कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पछिल्ला घटनाले सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक गिरोहको प्रभाव रहेको समयको सम्झना गराएको छ । कलाकारका साथै उनीहरूका परिवार र बालबालिकाको सुरक्षाका लागि निजी अङ्गरक्षकको माग बढेको छ ।
प्रहरीले पछिल्ला घटनालाई जेलमा रहेका भारतीय अपराधी लरेन्स बिश्नोईको गिरोहसँग जोडेर अनुसन्धान गरिरहेको छ । गत अक्टोबरमा अभिनेता टाइगर श्राफको गाडीलाई लक्षित गरी गोली प्रहार गरिएको थियो भने अभिनेता तुषार कपुरसँग छ लाख अमेरिकी डलर फिरौती मागिएको थियो । गोलीकाण्डमा संलग्न भएको आरोपमा सङ्गठित अपराध नियन्त्रण कानूनअन्तर्गत १३ जना पक्राउ परेका छन् ।
अभिनेता तथा सुरक्षा सेवा कम्पनीका सञ्चालक रोनित रोयका अनुसार कलाकार र उनीहरूका परिवारले सुरक्षाका लागि अङ्गरक्षक राख्ने क्रम बढाएका छन् । लेखक एस हुसेन जैदीले केही अवसरवादी अपराधीले चर्चित गिरोहको नाम प्रयोग गरी त्रास फैलाइरहेको बताउनुभएको छ ।
यसैबीच, अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गर्नुभएको छ भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।
सन् १९९० को दशकमा आपराधिक गिरोहले चलचित्र निर्माण, कलाकार छनोट र वितरणमा प्रभाव जमाउन फिरौती तथा धम्की दिने गरेका थिए । दाउद इब्राहिम र छोटा राजन त्यस समयका चर्चित अपराधी थिए । सन् १९९९ मा सङ्गठित अपराध नियन्त्रणका लागि प्रहरी कारबाही तीव्र भएपछि र चलचित्र क्षेत्रमा व्यावसायिक लगानी बढेपछि उनीहरूको प्रभाव घटेको थियो ।
बिश्नोई गिरोहलाई अभिनेता सलमान खानविरुद्धका धम्कीसँग पनि जोडिएको छ । सन् १९९८ मा कालो हरिणको सिकार गरेको आरोपपछि खानलाई धम्की दिइएको थियो । भारतीय अधिकारीहरूले गिरोहका सदस्यलाई खानको निवासबाहिर गोली चलाएको र सन् २०२४ मा राजनीतिज्ञ बाबा सिद्दीकीको हत्यामा संलग्न भएको आरोप लगाएका छन् ।
अपराध पत्रकार अहमद अलीले पछिल्ला धम्कीमध्ये केही बिश्नोईको नामबाट लाभ लिन खोज्ने व्यक्तिका प्राङ्क कल हुन सक्ने बताउनुभएको छ । सन् १९९० को दशकमा फिरौती र धम्कीको सामना गर्नुभएका चलचित्र निर्देशक राजीव रायले अहिलेका घटनाको उद्देश्य पहिलेको भन्दा फरक देखिएको बताउनुभएको छ । निर्माता बोनी कपुरले पछिल्लो हिंसा लामो समय नटिक्ने विश्वास व्यक्त गर्दै गोली प्रहारका घटनालाई भने बेवास्ता गर्न नहुने बताउनुभएको छ ।


