कलकलाउदा कञ्चन कृषकहरु
माटोसँगै खेल्छन्
माटोजस्तै मधुर बोल्छन्
माटो नै ओढेर सुत्छन्
माटैमाथि बसेर ताप्छन्
न्यानो दिनमा पारिलो घामहरु
काट्छन् शिशिरका रातहरु
र माटोभन्दा बढी शान्त हुन्छन् ।
कर्मवीर कृषकहरु
मुस्कुराइरहन्छन् स्वभिमानको मुस्कानहरु
छरिरहन्छन् आत्मनिर्भरताको लालीहरु
खोस्रिरहन्छन् गह्राहरु
खनिरहन्छन् फाँटहरु
जोतिरहन्छन् जमिनहरु ।
भरेर परिश्रमको संगीत
गाएर पसिनाको सुमधुर गीत
कृषि कर्म दिनरात गरिरहन्छन्
कृषि उपज उत्पादन गरिरहन्छन्
जीवनको स्याँदर रोधी र मारुनी नाँचिरहन्छन् ।
कर्मशील कृषकहरु
बीउसँग खेल्छन्
बीउजस्तै जीवन बाँच्छन्
जीवनका बीउहरु रोपिरहन्छन्
माटो बीउ र तापक्रमको सन्तुलनमा
बीउबाट विरुवा उमारिरहन्छन्
अस्तित्वको विरुवा गोडमेल गर्दै
सच्चरित्रताको पहेलपुर फसल
बुइगलका भकारीभरि भरिरहन्छन्
मानवताको वनस्पति हरपल हुर्काइरहन्छन् ।
कर्मठ कृषकहरु
उर्वर जमिन बाँझिन दिदैनन्
जमिनको उर्वराशक्ति मर्न दिदैनन्
जमिन बोकिरहेका जीवनहरु
जमिन बाँचिरहेका जीवनहरु
जीवनहरु बाँझिन दिदैनन्
जीवनका जमिनहरु बाँझिन दिदैनन्।


