काठमाडौ । नयाँ पुस्ताका प्रतिभाशाली कवि तथा पत्रकार नवीन काजी राईको उपचारका लागि आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ। साढे दुई वर्षअघि भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका राई हाल काठमाडौं मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ।
राईको टाउकोमा हालसम्म १० पटक शल्यक्रिया भइसकेको छ भने स्वास्थ्य उपचारका क्रममा एघारौँ शल्यक्रियाको तयारी भइरहेको छ। लामो समयदेखि उपचाररत राईको उपचारमा सहयोग पुर्याउने उद्देश्यले पूर्वमन्त्री सुदन किराँतीकाे विशेष पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो ।
बूढानीलकण्ठमा आयोजित एक कार्यक्रमबीच पूर्वमन्त्री तथा अभियानका मूल पहलकर्ता सुदन किरातीले राईलाई पाँच लाख ६७ हजार ५३० रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो।
आर्थिक रकम संकलनको संयोजन युवा व्यवसायी समिल राई र प्रमिला राईले गर्नुभएको थियो भने उक्त सहयोग रकम हस्तान्तरण बूढानीलकण्ठस्थित चेली-माइती समूहले आयाेजना गरेकाे एक कार्यक्रममा प्रदान गरिएको हो। सहयोग प्राप्त गरेपछि पत्रकार राईले आफ्नो उपचारमा साथ दिने अभियानका अभियन्ता तथा सम्पूर्ण सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्नुभएको छ।
लामो समयदेखि जीवन र मृत्युसँग संघर्ष गरिरहनुभएका कवि तथा पत्रकार राईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूर्वमन्त्री किराँतीले उहाँको उपचारमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नु भएको छ।


