सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको पर्खाइमा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन ।
छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको इभी बिहीबार बिहान करिब ६ः०० बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो ।
दुर्घटनाको खबर पाएदेखि नै मृतकका परिवार शोकमा छन् । छठ मनाउन घर फर्कने तयारीमा रहेका आफन्तको मृत्यु भएपछि सुन्दरपुर गाउँको उत्साह एकाएक शोकमा परिणत भएको छ । छठघाट निर्माण, गाउँघर सरसफाइ र पाहुनालाई निम्तो दिने चटारोमा रहेको गाउँ अहिले सुनसान बनेको छ ।
दुर्घटनामा छोरा र बुहारी गुमाउनुभएका प्रमोद यादवका अनुसार बुधबार साँझ छोरा गुड्डु यादवले गाउँका साथीभाइसँगै परिवार भोलिपल्ट छठ मनाउन घर आउन लागेको जानकारी गराउनुभएको थियो । तर, भोलिपल्ट बिहानै दुर्घटनाको खबरले परिवारमा बज्रपात परेको उहाँले बताउनुभयो ।
गुड्डु र उहाँकी श्रीमती गायत्री देवीका दुई छोरा सक्षम र सुजन पनि सोही गाडीमा सवार थिए । दुर्घटनामा पाँच वर्षीय सक्षम बाँच्न सफल हुनुभएको छ । दुर्घटनाका क्रममा बुबाले आफूलाई गाडीबाट बाहिर फालेको र त्यसपछि अरू कसैले सडकमा ल्याएकासम्म सम्झना रहेको सक्षमले बताउनुभयो । शरीरमा चोटपटक लिएर घर फर्कनुभएका उहाँलाई दुर्घटनामा आमाबुबाको मृत्यु भएको जानकारी छैन । अर्का छोरा सुजनको टाउको र मुखमा चोट लागेकाले काठमाडौँमा उपचार भइरहेको छ ।
भक्तपुरको इमाडोल आसपासमा ठेलामा तरकारी बेचेर गुड्डु र गायत्रीले दुई छोराको पालनपोषण गर्दै आउनुभएको थियो । दुर्घटनामा आमाबुबा गुमाएपछि दुवै बालक अभिभावकविहीन भएका छन् ।
दुर्घटनामा चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुरका एकै परिवारका छ जनाको मृत्यु भएको छ । अवधेश यादवकी श्रीमती ३५ वर्षीया पुनम यादव, छोरीहरू १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिका तथा भाइहरू निकेश र सुधेश यादवको मृत्यु भएको हो । उहाँहरूका १४ महिनाका छोरा सुदीपको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।


