काठमाडौं । श्रावण कृष्ण पक्षको एकादशी अर्थात् कामिका एकादशीलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको पूजा -आराधना गरी व्रत बसेर श्रद्धापूर्वक मनाउने गरिन्छ ।
कामिका एकादशीमा तुलसीपत्र अर्पण गरेर भगवान् विष्णुको पूजा गर्नुको विशेष महत्व रहेको छ। भगवान् विष्णुलाई तुलसी अत्यन्त प्रिय भएकाले तुलसीको एउटा पात भक्तिपूर्वक अर्पण गर्नु पनि पुण्यका रूपमा लिइन्छ।
यस एकादशीमा तीर्थस्थलमा स्नान, दान तथा पूजा गर्नाले फल प्राप्त हुने धार्मिक विश्वास छ। कुरुक्षेत्रमा स्नान, शालिग्राम रहेको गण्डकी नदीमा स्नान तथा गोदावरी स्नानभन्दा पनि कामिका एकादशीको व्रतबाट विशेष फल प्राप्त हुने धार्मिक शास्त्रीय मान्यता रहेको छ।
एकादशीको दिन बिहान स्नान गरी तुलसीको मठमा भगवानलाई अगरबत्ती तथा धूप बाल्ने र सूर्यास्तपछि व्रत कथा श्रवण गर्ने चलन छ। कतिपय स्थानमा एकादशीको साँझ शुद्ध घ्यूको दियो तुलसीको मठमा बाल्ने तथा भगवान् विष्णुलाई पञ्चामृत भोग लगाउने परम्परा पनि रहेको छ।


