तराई–मधेश घटनामा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपाको ६ बुँदे निर्णय

अ+
अ
अ-

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले सुनसरी, सिरहा लगायत तराई–मधेशका विभिन्न क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

साथै, घटनाको वास्तविकता सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन आवश्यक रहेको जनाएको छ। पार्टीले नेपाली समाजको धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र राष्ट्रिय एकतालाई कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ। विविधताबीचको सहअस्तित्व, पारस्परिक सम्मान र राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै सरकारले राजनीतिक संवादमार्फत समस्याको दिगो समाधान खोज्नुपर्ने उल्लेख गरेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिताविरुद्ध हुने विभाजनकारी तथा उत्तेजनात्मक गतिविधिप्रति सचेत रहन सबै नेपालीलाई आह्वान गरिएको छ। साथै, पार्टीका नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल र संघसंस्थासँग संवाद, बैठक तथा सद्भाव र्‍याली सञ्चालन गर्न निर्देशन दिइएको छ।

बैठकले तराई–मधेशमा विकसित परिस्थितिलाई राजनीतिक संवाद, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको आधारमा समाधान गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा आमजनतासमेत जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।