पूर्व मन्त्री किराँती:-शान्ति, सद्भाव र निष्पक्ष छानबिन हाेस्

+
-

काठमाडौ । पूर्व मन्त्री तथा श्रम संस्कृति पार्टीका उपनेता सुदन किराँतीले सिराहाको गोलबजारमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशमा बढ्दो साम्प्रदायिक तनाव र हिंसाप्रति सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्नेमा अपिल गरेका छन् ।

बिहीबार मध्यान्ह सामाजिक संजालमा लेख्दै उनले हालको परिस्थितिले देशलाई थप हिंसातर्फ धकेल्न नहुने उल्लेख गर्दै नेपालले अब थप हिंसाको भार धान्न नसक्ने अवस्था रहेको जनाइएका छन् । सरकारले तत्काल शान्ति–सुरक्षा व्यवस्था सुदृढ पार्दै घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका हुन्।

त्यसैगरी, सबै राजनीतिक दल, सामाजिक अगुवा तथा आम नागरिकलाई उत्तेजना, अफवाह र घृणाको राजनीति तथा गतिविधिबाट टाढा रही संयमित व्यवहार गर्न र संवादमार्फत सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो स्थानबाट भूमिका खेल्न अपिल गरिएको छ।

अपिलमा देशको एकता, सामाजिक सद्भाव र शान्ति नै सबैभन्दा ठूलो प्राथमिकता भएको उल्लेख गर्दै “देश रहे मात्रै हामी रहन्छौँ, हामी रहे मात्रै हाम्रो सपना, भविष्य र अस्तित्व सुरक्षित रहन्छ” उनले लेखेका छन् । साथै, वर्तमान साम्प्रदायिक तनाव र हिंसामाथि नेपाल र नेपाली जनताको विवेक, एकता र शान्तिको विजय हुनुपर्नेमा जोड दिइएको छ।