काठमाडौं । पछिल्लो एक सातादेखि सुधारको लयमा देखिएको नेपाली सेयर बजार पुनः ओरालो लाग्ने संकेत देखिएको छ। मंगलबार नेप्से परिसूचक उल्लेख्य अंकले घट्दै २७ सय बिन्दुभन्दा तल झरेपछि बजारप्रति लगानीकर्ताको चासो बढेको छ।
सेयर विश्लेषकहरूका अनुसार बजारमा आएको गिरावटका पछाडि मुख्यतः तीन कारण देखिएका छन्। पहिलो, वाणिज्य बैंकहरूको लाभांश वितरण सम्बन्धी अन्योलले लगानीकर्तामा अनिश्चितता बढाएको छ। दोस्रो, नेप्सेमा प्रयोग हुने ५० दिने र २०० दिने मुभिङ एभरेज (Moving Average) सूचकले बजारमा थप दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।
तेस्रो कारणका रूपमा पछिल्लो राजनीतिक अवस्थालाई हेरिएको छ। तराई–मधेस क्षेत्रमा बढ्दो सामाजिक तनाव, राजधानीमा भइरहेका विभिन्न आन्दोलन तथा केन्द्रीय राजनीतिमा देखिएको अस्थिरताले पनि लगानीकर्ताको मनोबलमा असर पारेको विश्लेषकहरूको भनाइ छ।
यद्यपि केही समयअघि प्रधानमन्त्रीले उद्योगी–व्यवसायी तथा अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रका प्रतिनिधिसँग गरेको छलफललाई बजारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको थियो। तर पछिल्ला राजनीतिक र आर्थिक घटनाक्रमले त्यो सकारात्मक प्रभावलाई निरन्तरता दिन नसकेको देखिएको छ।
विश्लेषकहरूले लगानीकर्तालाई बजारका प्राविधिक सूचक, बैंकहरूको लाभांश नीति तथा समग्र राजनीतिक-आर्थिक अवस्थालाई ध्यानपूर्वक मूल्याङ्कन गरेर मात्र लगानी निर्णय लिन सुझाव दिएका छन्।


