भद्रपुर । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको स्याहारमा व्यस्त महिला । झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमको दृश्य हो यो । बारीभरि फुलेका सयपत्रीले तिहार आगमनको मात्र सङ्केत गर्दैनन्, आफ्नै श्रमबाट आम्दानी गर्ने स्थानीय महिलाको सपना पनि उजागर गर्छ ।
एकातिर आफ्नै गाउँमा रोजगारीको अवसर, अर्कोतिर सामूहिक प्रयासबाट आत्मनिर्भर बन्ने आशा । यही उद्देश्यसहित स्थानीय महिलाले छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा हुर्काएका छन् । फूल राम्रोसँग फुलेपछि उनीहरू यस वर्ष तिहारमा राम्रो आम्दानी हुने अपेक्षामा छन् ।
सयपत्री फूल कृषक आमासमूह गठन गरेर सुरु गरिएको खेतीमा करिब रु २५ हजार लगानी गरिएको छ । समूहकी संयोजक कविता बस्नेतका अनुसार यस वर्ष फूल बिक्रीबाट रु तीन लाखसम्म आम्दानी हुने अनुमान गरिएको छ । “फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ”, बस्नेतले भन्नुभयो ।
तिहार नजिकिँदै गर्दा समूहका सदस्यलाई फूल टिप्ने, माला उन्ने र बिक्रीको तयारी गर्ने चटारो छ । एउटा माला रु १०० देखि रु १५० सम्ममा बिक्री हुने अपेक्षा छ ।
सामूहिक फूलखेतीले महिलालाई घरायसी जिम्मेवारीसँगै आयआर्जनमा जोडिने अवसर दिएको छ । खेतीको स्याहारदेखि माला तयार पार्नेसम्मका काममा समूहका सदस्य जुटेका छन् । तर फूल उत्पादन गर्नुमात्र पर्याप्त हुँदैन । समयमै बिक्री गर्न नसके फूलको गुणस्तर घट्ने र आम्दानीमा असर पर्ने जोखिम रहन्छ । सम्भावित वर्षाबाट फूल जोगाउन समूहले माला उनेर कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी गरेको संयोजक बस्नेतले बताउनुभयो ।
स्थानीय उत्पादनले बजारको माग धान्ने अपेक्षा
तिहारमा पूजाआजा, घर सजावट र मालाका लागि सयपत्रीको माग बढ्छ । स्थानीयस्तरमै उत्पादन गर्नसके बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम हुने र स्थानीय किसानलाई राहत पुग्न जान्छ ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले फूलखेतीले स्थानीय महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो । “स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता रहँदैन”, नगरप्रमुख थोप्राले भन्नुभयो, “फूलखेतीलाई थप क्षेत्रमा विस्तार गरी व्यावसायिक रूपमा अघि बढाउन नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।”


