संयमित र जिम्मेवार समाचार सम्प्रेषण गर्न काउन्सिलकाे आग्रह

अ+
अ
अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालले सुनसरी लगायत पूर्वी जिल्लामा हालै घटेको दुःखद तथा संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

मंगलबार जारी प्रेस विज्ञप्तिमा काउन्सिलले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।

काउन्सिलले संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा उच्च व्यावसायिकता, संयमता र जिम्मेवारी प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ। अपुष्ट सूचना, अफवाह, उत्तेजना फैलाउने सामग्री, घृणात्मक अभिव्यक्ति तथा सामाजिक, धार्मिक वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न आग्रह गरिएको छ।

विज्ञप्तिअनुसार पत्रकारिताको मूल मर्म सत्य, तथ्य, सन्तुलन र सार्वजनिक हितको संरक्षण भएकाले आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने उल्लेख गरिएको छ। साथै पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता र मानवीय मर्यादाको सम्मान गर्न, अनुसन्धान प्रक्रियामा असर पर्ने अनुमान वा अपुष्ट विवरण सम्प्रेषण नगर्न तथा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न काउन्सिलले अनुरोध गरेको छ।

प्रेस काउन्सिल नेपालले घटनासम्बन्धी प्रकाशित तथा प्रसारित सामग्रीको निरन्तर अनुगमन भइरहेको जनाएको छ। पत्रकार आचारसंहिता विपरीत समाचार वा सामग्री प्रकाशन–प्रसारण भएको देखिएमा काउन्सिलको अनुगमन शाखामा जानकारी गराई सहयोग गर्न सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सर्वसाधारणलाई पनि आग्रह गरिएको छ।

काउन्सिलले यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिक, धार्मिक वा सामाजिक ध्रुवीकरणको माध्यम नबनाई शान्ति, सामाजिक सद्भाव र जिम्मेवार सञ्चार संस्कृतिको संरक्षणमा सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरेको छ।