काठमाडौ । आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा हिन्दू धर्मावलम्बीहरूले गुरु पूर्णिमा तथा व्यास जयन्ती श्रद्धा, भक्ति र सम्मानका साथ मनाउँदैछन्। यो दिन गुरु र शिष्यबीचको आत्मीय सम्बन्ध, ज्ञानप्रतिको समर्पण तथा गुरुजनप्रति कृतज्ञता प्रकट गर्ने विशेष अवसरका रूपमा लिइन्छ।
शास्त्रअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ त्यसको नाश गर्ने हो। अर्थात् अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी प्रकाशतर्फ डोर्याउने व्यक्तिलाई गुरु भनिन्छ। त्यसैले गुरु जीवनलाई सही मार्गमा अघि बढाउने प्रेरणास्रोत मानिन्छ।
गुरु पूर्णिमाका दिन गुरुको पूजा-आराधना गरी उहाँहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परा रहिआएको छ। यसै दिन महर्षि वेदव्यासको जन्मजयन्ती पनि पर्ने भएकाले यसलाई व्यास जयन्ती का रूपमा समेत मनाइन्छ। वेदव्यासले वेदहरूको विभाजन, महाभारत र अठार पुराणको रचना गरी सनातन ज्ञानपरम्परामा अतुलनीय योगदान पुर्याएकाले उहाँलाई ‘आदि गुरु’ का रूपमा सम्मान गरिन्छ।
नेपाल र भारतलगायत हिन्दू धर्मावलम्बी समुदायमा विद्यालय, गुरुकुल, कलेज तथा विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक-शिक्षिकाप्रति विद्यार्थीहरूले सम्मान व्यक्त गर्ने चलन पनि रहेको छ। परम्परागत रूपमा दीक्षा प्रदान गर्ने व्यक्तिलाई गुरु मानिए पनि वर्तमान समयमा शिक्षा, संस्कार र जीवनोपयोगी ज्ञान प्रदान गर्ने शिक्षकहरूलाई समेत गुरुको सम्मान दिइन्छ।
गुरु पूर्णिमाका अवसरमा कतिपय श्रद्धालुहरूले व्रत बस्ने, बिहानै स्नान गरी पूजा–आराधना गर्ने तथा गुरुको आशीर्वाद लिने परम्परा निर्वाह गर्छन्। यस अवसरमा प्रचलित प्रसिद्ध गुरु मन्त्र- “गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥”
को जप गर्दै गुरुको महिमा स्मरण गरिन्छ।
गुरु पूर्णिमा केवल धार्मिक पर्व मात्र नभई ज्ञान, संस्कार, अनुशासन र मानवीय मूल्यहरूको सम्मान गर्ने महत्वपूर्ण सांस्कृतिक पर्व पनि हो। यस दिन आफ्ना गुरु, शिक्षक तथा जीवनमा मार्गदर्शन गर्ने सबै व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नु नै यसको मुख्य सन्देश हो ।
देवानगञ्ज घटनामा बल्ल बाेल्याे सरकार, ध्यानाकर्षण भएको सन्देश, छानबिन समिति गठन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सरकारले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विज्ञप्तिअनुसार, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइएको छ। साथै घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरी काम सुरु गरिसकेको जनाएको छ।
सरकारले पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा दोषीउपर कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सरकारले शान्तिपूर्ण र कानुनी माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा नेपाली समाजमा कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा भ्रामक सूचना र अफवाहको पछि नलाग्न सबैमा अपिल गरिएको छ।
यस संवेदनशील परिस्थितिमा मुलुकभर शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम तथा आम नागरिकसँग नेपाल सरकारले सहयोग र संयमताको आग्रह गरेको छ।


