अ+
अ
अ-
काभ्रेपलाञ्चोक। भुम्लु गाउँपालिकामा विद्युत् करेन्ट लागेर मृत्यु भएका ४५ वर्षीय देवी उप्रेतीका परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ६ बुँदे सहमति भएको छ।
मृतकका आफन्त, भुम्लु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा नं. ७ र ८ का वडाध्यक्ष, जनप्रतिनिधि, नेपाल विद्युत् प्राधिकरण पनौती वितरण केन्द्रका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलपछि उक्त सहमति भएको हो। सहमतिअनुसार नेपाल विद्युत् प्राधिकरणले नियमअनुसार मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनेछ।
मृतकका सन्तानको अध्ययन व्यवस्थापनका लागि प्राधिकरणले सञ्चालक समितिमा सिफारिस गर्ने र आवश्यक व्यवस्था नभए जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले पहल गर्ने जनाइएको छ। यस्तै, मृतकका परिवारका एक सदस्यलाई योग्यता अनुसार रोजगारी उपलब्ध गराउने, मृतककाे श्रीमानलाई राेजगारी र दुई सन्तानको स्वास्थ्य र शिक्षामा आवश्यक सहजीकरण गर्ने तथा भुम्लु गाउँपालिका क्षेत्रभित्र रहेका जोखिमयुक्त विद्युत् पोल र नाङ्गा तारको व्यवस्थापन तत्काल सुरु गरी शीघ्र सम्पन्न गर्ने सहमति भएको छ।
त्यसैगरी, काभ्रेपलाञ्चोक जिल्लाभर रहेका जोखिमयुक्त विद्युत् पोल तथा तारको व्यवस्थापन अविलम्ब गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन गराउन अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।

