तीज पर्व गीत संगीत र बाल्यकाल-देवी पराजुली

+
-

हरेक वर्षझैँ यसपालि पनि तीज पर्व घर घरमा ‌भित्रने तरखरमा छ। यो पर्व त केही दिनमै सकिएला, तर यसले बोकेको सामाजिक र सांस्कृतिक महत्त्व निकै गहिरो छ। तीजलाई हिन्दू महिलाहरूको मात्र पर्वका रूपमा हेर्ने गरिए पनि आज आएर विभिन्न समुदायका महिलाहरूले समेत यसलाई आफ्नै तरिकाले मनाउन थालेका छन्। यसले समाजमा आपसी एकता, मेलमिलापर सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

प्राचीन समयमा हिन्दू महिलाहरूले मनाउने तीज समयसँगै आधुनिक समाजको परिवर्तनअनुसार आम महिलाको पर्वका रूपमा विकसित हुँदै आएको छ। विवाहपछि जन्मघर छोडेर कर्मघर पुगेकीमहिलालाई माइती परिवारसँग पुनः जोडिने अवसर प्रदान गर्नु तीजको एउटा महत्वपूर्ण विशेषताहो। त्यसैले तीज केवल धार्मिक पर्व मात्र नभई महिलाको भावनात्मक सम्बन्ध र पारिवारिक आत्मीयताको पर्व पनि हो।

भाद्र शुक्ल दितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने तीजमा भगवान् शिवको आराधना गरिन्छ। तीजको तेस्रो दिन महिलाहरू रातो पहिरनमा सजिएर वर्षभरिका आफ्ना दुःख, पीडा,अनुभव र भावनाहरू गीतमार्फत व्यक्त गर्ने परम्परा रहिआएको छ। समयसँगै तीज मनाउने तरिका र तीजमा गाइने गीतहरूको स्वरूपमा पनि परिवर्तन आएको छ। विगतमा विवाहित छोरीहरू माइती जान नपाउने, वर्षभरि खेतीपाती र घरायसी काममा व्यस्त रहने तथा कतिपय महिलाले परिवार वा श्रीमानबाट भोग्नुपरेका दुःख–दुर्व्यवहारलाई खुलेर व्यक्त गर्न नसक्ने अवस्था थियो। त्यही कारण तीजका गीतहरू महिलाहरूका लागि आफ्ना पीडा र गुनासाहरू व्यक्त गर्ने माध्यम बने। व्यक्तिगत जीवनमा भोगेका दुःख–कष्ट पोख्ने चौतारीजस्तै थियो तीज पर्व। मनमा गुम्सिएका भावनाहरू गीतमार्फत खुलेर व्यक्त गर्ने अवसर तीजले प्रदान गर्दथ्यो। आफ्नो क्षेत्रअनुसार तीजका गीतहरू फरक–फरक शैलीमा गाइन्थे। विशेषगरी पूर्वी नेपालमा सङ्गिनी गीतमार्फत महिलाहरूले आफ्ना वेदना व्यक्त गर्ने परम्परा थियो। उदाहरणका रूपमा:

दस र बर्षमा पराइघर दिदा,२
बाबाआमाबाट भएर बिदा बालापन हुर्कंदा
तरेभीर बाट नि माइती घर हेर्दा २
जन्मेको गाउँ नि हुर्केको ठाउँ २
पहिलो पाइला टेकेको ठाउँ म भुल्न सक्दिन
माइती घरलाई कुइरोले छेक्दा म रुन्थे धुरुरु
जन्मेको गाउँ नि हुर्केको ठाउँ २
पहिलो पाइला टेकेको ठाउँ म भुल्न सक्दिन
दुई पहर नसुती ढिकी र जाँतो२
सृष्टिलाई थाम्ने माया थ्यो साँचो बन्नुथ्यो संस्कारी

यस्ता गीतहरू सुन्दा आज पनि ती समयका महिलाहरूले भोगेका पीडा, भावना र सम्झनाहरू झल्किन्छन्। साँच्चै, गीत र सङ्गीतले विगतका ती क्षणहरूलाई सम्झँदा निकै मिठो र भावुक बनाइदिन्छ।

सम्झनामा बाल्यकाल
तीजको व्रत किन र केका लागि बसिन्छ भन्ने कुरा नबुझी आमाहरू, दिदीबहिनीहरूसँग पूजा गर्न हिँडेको बाल्यकालको सम्झना अझै ताजा छ। दितीयाका दिन दर खाएर तृतीयाको दिन व्रत बस्नेर आमाहरू तथा दिदीबहिनीहरूसँग करिब पाँच किलोमिटर पैदल हिँडेर भद्रपुर बजार पुग्ने गरिन्थ्यो। त्यहाँ शिव मन्दिरभित्र भगवानको दर्शन गरी पूजा गर्ने गरिन्थ्यो। आमा, काकीहरु र भाउजूहरू निराहार व्रत बस्नु हुन्थ्यो आफू भने पूजा सकेपछि साथीहरूसँग इनारको पानी पिउन जान्थे। थकाइभन्दा पनि साथीहरूसँग बिताएका ती क्षणहरू निकै रमाइला र आत्मीय लाग्थे। पञ्चमीका दिन हडिया र फूलबासी खोलाको दोभानमा गई गाईको गोबर मिसाइएको माटोले नुहाउने र शरीर शुद्ध गर्ने परम्परा पनि थियो। त्यसपछि दतिवनले दाँत माझ्ने तथा विभिन्न धार्मिक विधि पूरा गर्ने गरिन्थ्यो।पञ्चमीको पूजामा दुवै गोडाको पाइला अलिकति पनि खाली ठाँउ नराखी घिसारेको चालमा घुम्दै पूजा गर्ने चलन थियो। यसो गरेमा पाप नष्ट हुन्छ भन्ने विश्वास थियो। पूजा सकेपछि आमाहरूसँगै गाउने, नाच्ने र सङ्गिनीमा रमाउने वातावरण झन् रमाइलो हुन्थ्यो। समूहमाघण्टौँसम्म सङ्गिनी गीत गाउने र नाच्ने गरिन्थ्यो।आजको आधुनिक जीवनमा त यस्तो सामूहिक गायन, नृत्य र खानपानको संस्कृति कहिलेकाहीँ सपनाजस्तै लाग्छ।

बदलिँदो तीज
हुन त अहिलेको समाज र महिलाको भूमिकासँगै तीज पर्व र तीजका गीतहरूमा पनि धेरै परिवर्तन आएको छ। हिजो ढिकी, जाँतो, चुलो–चौका र घरायसी काममा सीमित महिलाहरू आज विभिन्न सङ्घ–संस्थाका उच्च पदमा पुगेका छन्। उनीहरू नीति निर्माणका विभिन्न तहमा सक्रिय छन् र विश्वका विभिन्न देशमा कार्यरत तथा बसोबास गरिरहेका छन्। उनीहरू जहाँ भए पनि `तीज मनाउने परम्परालाई निरन्तरता दिइरहेका छन्।
महिलाका पक्षमा विभिन्न ऐन, कानुन तथा अधिकारसम्बन्धी व्यवस्था निर्माण भएका छन्। महिला अधिकारका विषयमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरू महिलाको आवाजबुलन्द गर्ने माध्यम बनेका छन्। महिलाहरू पनि एक–अर्कालाई सहयोग गर्दै आफ्नो अधिकार र कर्तव्यप्रति सचेत हुँदै गएको पाइन्छ। त्यसैले आजका तीज गीतहरू पनि विगतका जस्ता केवल दुःख र पीडामा केन्द्रित छैनन्; तिनमा हाँसो, खुसी, आत्मविश्वास, प्रेम, सद्भाव र सामाजिक चेतनाका विषयहरू पनि समेटिन थालेका छन्।

गाउँ-शहर लेक-बेशी तीजको लहर छाँएको छ
आज धेरै माइती घरको याद आएकोछ
राती उठी खाइन्थ्यो खट्टे,अचार,ढकनी
फर्कि जान्थ्यौं कर्म घर मनाई पन्चमी
राष्टपति मूख्य सचीव मन्त्री हामी भएकोछौं
कर्म थलो मुस्कान सहित सेवा दिएकोछौं

आजको तीज बदलिदो समय सगै दुःख बिसाउने चौतारी मात्र नभई खुसी साट्ने र एक–अर्कासँग आत्मीयता बढाउने चौतारी पनि बनेको छ। तीजका गीत र नृत्यमार्फत महिलाहरूले आफ्ना पीडा र वेदनासँगै संघर्ष, महिला अधिकार, माया, प्रेम र सद्भावका कुरा पनि व्यक्त गर्न थालेका छन्। यसले महिलालाई अझ सचेत, ऊर्जाशील र सशक्त बनाउन सहयोग गरेको छ। विभिन्न कारणले माइती जान नसक्ने महिलाहरूका लागि पनि सामूहिक रूपमा भेला भएर तीज मनाउने कार्यक्रमहरूले संस्कृति र परम्परालाई जीवित राख्न महत्वपूर्ण भूमिका खेलेका छन्। तर यसपालिको तीज भोटेकोसीमा आएको बाढीपहिरो सगै मन बगाएको जस्तो महशुस भइ बेखुशी भएकोछ। अप्रत्यासित दैवी प्रकोपका कारण यसपालीको तीज पर्व प्रभावित भएको छ। धेरैजसो महिला दिदीबहिनीहरूले आफूले छुट्याएको रकम पीडितहरूप्रति समर्पित गर्नुभएको छ। त्यसैले यसपटक तीजको चाड केही फरक हुने भएको छ। बजारमा तीजका गीतहरू आए पनि विगतको जस्तो रनक प्रभाव र लोकप्रियता पाउन सकेका छैनन्। देश दुःखमा परेको बेला मनले सहजै खुसी मनाउन सकिदैन। तर दुःखको समयमा पनि मन बहलाउन गीत र सङ्गीतको भूमिका महत्वपूर्ण हुन्छ। गीतले मनको पीडा कम गर्न र आशा जगाउन सहयोग गर्न सक्छ। उछिङ्खल प्रवृतिका गीतहरु भन्दा माइती चेलीको माया ममता घोलीत गीतहरुले तीजको मर्म बुझेको हुन्छन त्यसैले यस्ता प्रकारका गीतहरु मार्फत नयाँ पीढीलाई बुझाउन जरुरी छ।

सारी फरर सारी फरर २
ढल्की ढल्की मै नाच्दा ताली बरर
बाबाज्युले किन्दिएको सिको फायभ घडी २
त्यही घडी हो हेर संगी चल्छ सरर

आजका समाजका महिलाहरू आफ्नो जीवनका हरेक क्षणलाई उज्यालो भविष्यतर्फ लैजान निरन्तर प्रयासरत छन्। उनीहरू घर र कार्यालय दुवै क्षेत्रमा उत्तिकै जिम्मेवारी वहन गरिरहेका छन्। उनीहरू केवल घरभित्र सीमित महिला मात्र होइनन्, समाजको जिम्मेवारी र दायित्वलाई समेत काँधमा बोकेर अघि बढिरहेका छन्। त्यसैले आजको बदलिँदो सामाजिक परिवेश र महिलाको परिवर्तित भूमिकाअनुसार तीजलाई पनि
समयसापेक्ष रूपमा मनाउन आवश्यक छ। तीजको संस्कृतिमा आएका परिवर्तनहरूलाई सकारात्मक रूपमा स्वीकार गर्दै यसलाई अझ अर्थपूर्ण सांस्कृतिक अभ्यासका रूपमा अघि बढाउन सकिन्छ। तीजलाई केवल रमाइलो गर्ने पर्वका रूपमा मात्र नभई आपसी माया, सद्भाव, समानता, महिला सशक्तीकरण र सांस्कृतिक एकताको पर्वका रूपमा मनाऔँ। सम्पूर्ण आमाहरू, दिदीबहिनीहरू तथा महिला दिदीबहिनीहरूमा तीजको हार्दिक शुभकामना ।

अन्त्यमा— सारी फरर सारी फरर ढल्की ढल्की मै नाच्दा ताली बरर !

(“हरितालिका तीज २०८३ को सम्पूर्ण नारीहरुमा शुभकामना”)

गीतकार देवी पराजुली
भक्तपुर, लोकन्थली–१