अ+
अ
अ-
काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/८४ देखि दूध संकलन प्रणालीलाई प्रविधिमैत्री, दिगो र थप व्यवस्थित बनाउने तयारीस्वरूप दूध उत्पादक सहकारी संस्था तथा निजी फार्मलाई २०८३ साल साउन मसान्तभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
संस्थानले जारी गरेको विज्ञप्तिमा विगत ५७ वर्षदेखि देशभरका दूध उत्पादक सहकारी संस्था, निजी फार्म तथा किसानबाट उत्पादन भएको दूध संकलन गर्दै आएको उल्लेख गर्दै कठिन परिस्थितिमा समेत निरन्तर दूध आपूर्ति गराएकोमा सबैप्रति आभार व्यक्त गरेको छ। डीडीसीले आगामी दिनमा पनि संस्था र सहकारी तथा निजी फार्मबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै दुग्ध क्षेत्रको विकासमा निरन्तर योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
विज्ञप्तिअनुसार संस्थासँग नियमित दूध कारोबार गर्न इच्छुक सहकारी संस्था तथा निजी फार्महरूले साउन मसान्तभित्र आफूलाई पायक पर्ने डीडीसीका आयोजना, चिस्यान केन्द्र वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। तोकिएको अवधिभित्र सम्पर्क नगर्ने संस्था तथा फार्मसँग दूध कारोबार गर्न संस्थान बाध्य नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

