सोमबार आज- भगवान् शिवको विशेष पूजा–आराधना गरिँदै

अ+
अ
अ-

काठमाडौं । आज वि.सं. २०८३ साल असार २९ गते असार महिनाको पहिलो सोमबार परेको छ। पञ्चाङ्गअनुसार आज कृष्ण पक्षकाे चतुर्दशि  मृगशिरा नक्षत्र र ध्रुव योग रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि सोमबार भगवान् शिवको आराधनाका लागि अत्यन्त शुभ र पुण्यदायी मानिने भएकाले देशभरका शिवालय तथा मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।

भगवान् शिवलाई समर्पित पवित्र बारका रूपमा लिइन्छ। विशेषगरी यस सोमबारमा व्रत बसी श्रद्धापूर्वक शिवजीको पूजा–आराधना गर्नाले मनोकामना पूरा हुने, पारिवारिक सुख–शान्ति प्राप्त हुने, स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने तथा ग्रहदोषबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ। अझै  श्रावण महिनामा पाँच वटा सोमबार परेमा यसको धार्मिक महत्त्व अझ विशेष रहेको बताइन्छ।

धार्मिक ग्रन्थहरूमा श्रावण महिनामा भगवान् शिवको जलाभिषेक, रुद्राभिषेक तथा बेलपत्र अर्पणको विशेष महत्त्व उल्लेख गरिएको छ ।  भक्तजनहरूले उपवास बसेर शिवलिङ्गमा जल, दूध, दही, घ्यू, मह, चिनी, गंगाजल, बेलपत्र, धतुरो, आकको फूल, चन्दन र विभिन्न फलफूल चढाई पूजा–आराधना गर्छन् । शिवको आराधनाले मनमा शान्ति, आत्मविश्वास र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ।
राजधानीको पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयहरूमा बिहान सबेरैदेखि दर्शनार्थीहरूको लाम लाग्ने गरेको छ।  भक्तजनहरूले ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्दै भगवान् शिवको दर्शन, पूजा र अभिषेक गर्ने गरेका छन्

ज्योतिषशास्त्रका अनुसार सोमबार चन्द्र ग्रहसँग सम्बन्धित दिन भएकाले मनको चञ्चलता, मानसिक तनाव वा ग्रहसम्बन्धी समस्या अनुभव गरिरहेका व्यक्तिहरूले भगवान् शिवको आराधना गर्दा सकारात्मक फल प्राप्त हुने धार्मिक विश्वास छ ।