अ+
अ
अ-
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूले मुगुका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्दै घटनाबारे सरकारको जिम्मेवारी र जवाफदेहिता माग गरेका छन्।
नेपालीले बिहीबार काठमाडौंको निषेधित क्षेत्रमा मोटरसाइकल रोकेपछि ट्राफिक प्रहरीले १० हजार रुपैयाँ जरिवाना गरेको घटनापछि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । गम्भीर रूपमा जलेका उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।
प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) का सांसद ऐन महरले गणेश नेपालीको मृत्युको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न पनि माग गरे। वीर अस्पतालबाट सिधै संसद बैठकमा पुगेका सांसद महरले सरकारले समयमै नागरिकका समस्या सम्बोधन गर्न नसक्दा प्रेम आचार्य र गणेश नेपालीजस्ता दुःखद घटना दोहोरिएको टिप्पणी गरे।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पनि घटनाप्रति सरकार जिम्मेवार रहेको आरोप लगाउँदै यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताए।
सत्ता पक्षिय सांसद रन्जु दर्शनाले गणेश नेपालीलाई क्षतिपूर्ति दिएर उम्कन नमिल्ने भन्दै सरकारलाई सचेत भएर काम गर्न अनुराेध गर्नु भएको छ ।


