बजेट आवश्यकताका आधारमा नभई कार्यकर्ता रिझाउन बाँडियो -सांसद लक्ष्मण लम्साल

अ+
अ
अ-

काठमाडौं । बाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल गर्दै प्रदेश सरकारले आवश्यकताका आधारमा नभई कार्यकर्ता रिझाउने उद्देश्यले बजेट विनियोजन गरेको आरोप लगाउनुभएको छ।

प्रदेशसभाको बैठकमा बोल्दै सांसद लम्सालले माननीयहरूबाट विकास योजना माग गराए पनि वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन नगरिएको बताउनुभयो। अर्थमन्त्रीले पालिका तहमा १० लाख रुपैयाँसम्मका टुक्रे योजना नपठाउने र यस्ता बजेट हटाउने घोषणा गरे पनि व्यवहारमा ५ लाख, १० लाख र १५ लाख रुपैयाँका योजनाहरू अझै पनि समावेश गरिएको उहाँको आरोप थियो।

उहाँले बाग्मती प्रदेश सरकारले अपेक्षित रूपमा राजस्व संकलन गर्न नसकेको र त्यसअनुसारको यथार्थपरक बजेटसमेत ल्याउन नसकेको टिप्पणी गर्नुभयो। विगत आठ वर्षदेखि सत्ता वा प्रतिपक्ष जहाँ रहे पनि केही निश्चित नेताले आफ्नै निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने प्रवृत्ति कायम रहेको भन्दै यसले समान विकासको अवधारणामाथि प्रश्न उठेकाे बताउनुभयो।

सांसद लम्सालले आफ्नो क्षेत्रमा पर्याप्त बजेट गएको अवस्थामा पनि प्रतिनिधिसभा सदस्यमा आफ्नै दलका उम्मेदवारलाई किन जिताउन नसकिएको भन्ने प्रश्नसमेत उठाउनुभयो।

उहाँले सरकारले उद्यमशीलता तथा रोजगारी प्रवर्द्धनका लागि २० करोड रुपैयाँ छुट्याएको उल्लेख गर्दै साना तथा लघु उद्योग विकासमा प्रभावकारी योगदान पुग्ने गरी नीतिगत व्यवस्था गर्न नसकेको आरोप लगाउनुभयो।

सांसद लम्सालले समग्रमा आर्थिक वर्ष २०८३/८४ को बजेट नीतिगत रूपमा त्रुटिपूर्ण रहेको दाबी गर्दै आवश्यक सुधार गर्न सरकारसँग आग्रह गर्नुभयो।