घडीको सुईमा अल्झिएको हाम्रो भ्रम

+
-

 

साँझको धमिलो प्रकाश झ्यालको पर्दाबाट छिरेर मेरो पुरानो टेबलमा लमतन्न सुतेको छ । भित्तामा झुन्ड्याइएको घडीले आफ्नो नियमित लयमा ‘टिक-टिक’ को आवाज निकालिरहेको छ। यो आवाज त्यही हो, जुन हिजो पनि थियो, अघिल्लो वर्ष पनि थियो र सायद म जन्मनुअघि पनि कुनै न कुनै रूपमा अस्तित्वमा थियो। बाहिर हेर्छु, वसन्त ऋतुको आगमनसँगै पलाएका पालुवाहरू उस्तै हरिया देखिन्छन्, जसरी बाल्यकालमा मेरा बाले देखाउने रुखहरू हरिया हुन्थे। हावाको स्पर्श उस्तै छ, सूर्यको तापमा उही पुरानो न्यानोपन छ। लाग्छ, समय एउटा ठूलो चक्का हो, जो घुमिरहन्छ र बारम्बार उही विन्दुमा आइपुग्छ । तर, जब म ऐनामा आफ्नो अनुहार हेर्छ वा टेबलमा राखिएको चियाको कपलाई छुन्छु, मभित्र एउटा भयानक प्रश्नको आँधी चल्न थाल्छ, “के साँच्चै समय उही हो? वा यो मेरो चेतनाले रचेको एउटा भ्रम मात्र हो ?”

समयको आवृत्ति हुन्छ भन्नु एउटा मीठो झूट हो जसलाई हामी बाँच्नको सहारा बनाउँछौं। ऋतुहरू फर्किएर आउँछन् भन्दैमा के गएको सालको त्यही वसन्त फर्किएको हो त? अहँ, त्यो त गइसक्यो। अहिले फुलेको आरुको फूल त्यही फूल होइन जो अघिल्लो वर्ष ओइलाएर झरेको थियो। त्यसको रूप उही होला, रङ उही होला, त्यसले दिने आनन्दको आवृत्ति उही होला तर त्यो नितान्त नयाँ हो। हामीले नाम उही राखिदियौँ-‘वसन्त’ । हामीले समयलाई नाम दियौँ ‘बिहान’, ‘दिउँसो’, ‘साँझ’। तर, हरेक बिहान बोकेर ल्याउने किरणहरू नितान्त नौला र कहिल्यै नदोहोरिने क्षणभंगुर सत्य हुन् ।

म सोच्दै छु, हामी किन समयलाई चक्र मान्छौँ ? सायद यसको गहिरो मनोवैज्ञानिक कारण छ। यदि हामीले इमानदार भएर स्वीकार्यों कि समय कहिल्यै फर्कंदैन, हरेक बित्ने पल एउटा अनन्त विदाई हो र यो जीवन एकतर्फी यात्रा हो तब हाम्रो अस्तित्वको त्रास यति गहिरो र भयावह हुन्छ कि हामी पागलपनको संघारमा पुग्नेछौँ। त्यो रित्तोपनको खाडलमा नखस्नकै लागि हामी क्यालेन्डर झुन्ड्याउँछौँ। हामी जन्मदिन मनाउँछौँ, उत्सव गछौँ। हामी एकअर्कालाई भन्छौँ, ‘अर्को वर्ष फेरि भेटौंला।’ यो ‘फेरि’ भन्ने शब्द नै मानिसले मृत्यु र शून्यतासँग जुध्न बनाएको सबैभन्दा बलियो र भ्रमपूर्ण ढाल हो। तर यो ढालको पछाडि लुकेको निष्ठुर सत्य के हो भने मान्छे, वस्तु, र परिवेश निरन्तर बदलिरहेका छन्। ठिक यही बिन्दुमा मलाई विपश्यना शिविरमा सत्य नारायण गोयन्काले आफ्नो गम्भीर र गुन्जिएको स्वरमा दिएको प्रवचनको झझल्को आउँछ। उनी बारम्बार सम्झाउँथे, “अनिच्च… अनिच्च… सब भङ्गुर है।” उनी भन्थे कि यो शरीर जसलाई हामी ‘मेरो’ भन्छौँ, यो त केवल अनगिन्ती सूक्ष्म तरङ्गहरूको पुञ्ज मात्र हो जो पल-पल उदाइरहेका छन् र बिलाइरहेका छन्।

त्यसैले, हिजो म जसलाई ‘म’ भन्थें, आज त्यो ‘म’ को धेरै हिस्सा मरिसकेको छ। विज्ञान र विपश्यना दुवैले भन्छन् – मेरो छालाका कोषहरू फेरिएका छन्, रगतका कणहरू बदलिएका छन्। भौतिक रूपमा म उही मान्छे होइन जो एक सेकेन्ड अघि थिएँ। मेरा विचारहरूमा नयाँ अनुभवको लेप लागेको छ र मेरो स्मृतिको पुस्तकालयमा केही नयाँ पुस्तक थपिएका छन् भने केही पुराना पुस्तकका अक्षरहरू समयको धमिलोपनले मेटिएका छन्।

हामी बगिरहेको नदीजस्तै हौं जसको नाम त उही रहन्छ तर पानी सधैं नयाँ हुन्छ। तर विडम्बना ! हामी त्यो प्रवाहलाई देख्न डराउँछौँ। हामीलाई स्थिरता चाहिन्छ। त्यसैले हामी ‘चक्र’ को परिकल्पना गछौँ। हामी ऋतुहरू दोहोरिएको हेरेर सान्त्वना लिन्छौँ कि ‘वसन्त फेरि आउँछ’, तर हामी यो बिर्सन्छौं कि आउने वसन्तमा फुल्ने फूलहरू नितान्त नयाँ हुनेछन् र तिनीहरूलाई हेर्ने हाम्रा आँखाहरू पनि पुराना भइसकेका हुनेछन्। समय गोलो होइन, एउटा तिखो र सीधा वाण हो तर त्यो वाणको तीखोपनबाट बच्न हामीले घडीको सुईलाई गोलो बनाएका छौं।

ग्रीक दार्शनिक हेराक्लाइटसले भनेजस्तै, “कुनै पनि मानिस एउटै नदीमा दुईपटक पाइला राख्न सक्दैन ।” किनकि न त त्यो नदी उही रहन्छ न त त्यो मानिस । आज म बाग्मतीको किनारमा उभिएर हेर्छु। पानी बगिरहेछ । यो पानी उही होइन जुन हिजो बगेको थियो। र, म पनि उही होइन। हिजोको ममा जुन चिन्ता थियो, आज त्यो छैन; आज नयाँ चिन्ताहरू छन्। हिजोको ममा जुन उत्साह थियो, आज त्यो परिपक्वता वा निराशामा बदलिएको हुन सक्छ। तर, हामी नदीलाई ‘बाग्मती’ नै भनिरहन्छौँ र आफूलाई ‘फलानो’ नै भनिरहन्छौँ। यो नामकरण नै हाम्रो सबैभन्दा ठूलो भ्रम हो। हामी परिवर्तनशील प्रवाहलाई स्थिर नाम दिएर बाँध्न खोज्छौँ। हामी समयलाई घडीको गोलो घेरामा कैद गरेर आफूलाई आश्वस्त पार्छौँ कि ‘समय घुमिरहेछ’ । तर, समय घुम्दैन, समय त सिधा अगाडि बढिरहेछ वा सायद फैलिइरहेछ जसरी ब्रह्माण्ड फैलिइरहेछ ।

म सहरका पुराना गल्लीहरूमा हिँड्दा पुराना घरहरू देख्छु। ती इँटाहरू उही देखिन्छन् तर तिनले कतिवटा पुस्तालाई निलेका होलान् ? एउटा घरको पिँढीमा बसेर घाम तापिरहेको वृद्धलाई देख्छु। उसको अनुहारमा कोरिएका चाउरीहरू समयको हस्ताक्षर हुन्। उही पिँढीमा कुनै बेला ऊ बालक भएर खेलेको थियो होला। पिँढी उही छ (कम्तीमा देख्दा), घाम उही छ, तर त्यो बालक कहाँ गयो ? त्यो बालकको हाँसो, उसको अबोधपन, उसको त्यो समयको चेतना सबै विलय भइसक्यो। केवल एउटा स्मृति बाँकी छ, जुन पनि धुमिल हुँदै गइरहेको छ । यहाँ वस्तुहरू पनि कहाँ उही छन् र ? त्यो घरको काठ मक्किएर गइरहेको छ, ढु‌ङ्गाहरू खिइँदै छन् । हामीले ‘घर’ भनिरहँदा त्यो घरभित्रको आणविक संरचनामा निरन्तर उथलपुथल भइरहेको हुन्छ। केवल हाम्रो हेर्ने नजरको आवृत्तिले गर्दा हामीलाई लाग्छ कि सबै कुरा स्थिर छ।

समयको यो विरोधाभासलाई बुझ्न मैले अलबर्ट कामुको ‘सिसिफस’ को मिथकलाई सम्झनुपर्ने हुन्छ । सिसिफस ढुङ्गा गुडाएर पहाडको टुप्पोमा पुऱ्याउँछ, ढुङ्गा फेरि खस्छ, र ऊ फेरि गुडाउन थाल्छ। हेर्दा यो समयको आवृत्तिजस्तो देखिन्छ उही काम, उही ढु‌ङ्गा, उही पहाड। तर, कामु भन्छन् – हरेकपटक जब सिसिफस तल झर्छ, ऊ सचेत हुन्छ। उसको चेतनाको स्तर बदलिन्छ। बाहिरबाट हेर्दा समय दोहोरिएको देखिन्छ, तर भित्रभित्रै अनुभवको एउटा पहाड निर्माण भइरहेको हुन्छ। हाम्रो जीवन पनि त्यस्तै हो। हामी हरेक बिहान उठ्छौँ, नित्यकर्म गछौँ, काममा जान्छौं, र सुत्छौं। यो दिनचर्याको आवृत्ति हो। तर, के आजको निद्रा हिजोको जस्तै हो ? के आजको थकान हिजोको जस्तै हो? होइन। हरेक पलले हामीलाई मृत्युको अलिकति नजिक र अनुभवको अलिकति टाढा पुऱ्याइरहेको हुन्छ ।

कहिलेकाहीँ लाग्छ, समय भनेको बाहिर होइन, हामीभित्र छ। हेनरी बर्गसाँले भनेजस्तै, घडीको समय र मनोवैज्ञानिक समय फरक कुरा हुन्। घडीले ६० सेकेन्डलाई एक मिनेट भन्ला, त्यो उसको यान्त्रिक आवृत्ति हो। तर, प्रिय मान्छेको प्रतीक्षामा बिताएको एक मिनेट र प्रिय मान्छेसँग बिताएको एक मिनेटको लम्बाइ कहिल्यै समान हुँदैन। जब म पीडामा हुन्छु, समय लम्बिएर अनन्तकालजस्तो लाग्छ। जब म खुसीमा हुन्छु, समय बाफ बनेर उड्छ । यदि समय उही हो भने, यसको अनुभूति किन फरक हुन्छ ? किन बाल्यकालका दिनहरू लामा लाग्थे र बुढेसकालका वर्षहरू छोटो लाग्छन् ? यसको अर्थ हो- समय आफैंमा निरपेक्ष छैन । यो त हाम्रो चेतनाको ऐना हो। हामी जति छिटो बदलिन्छौँ, समय उति नै सापेक्ष भएर बग्छ ।

हामीले ऋतुहरूलाई नाम दियौं गृष्म, वर्षा, शरद, हिउँद, शिशिर, वसन्त। यो एउटा चक्र हो भनिन्छ। तर, ध्यान दिएर हेर्ने हो भने, प्रकृतिको कुनै पनि दुई वर्षायाम ठ्याक्कै उस्तै हुँदैनन् । कुनै सालको झरीले विनाश ल्याउँछ, कुनै सालको झरीले सिर्जना। आकाशबाट खस्ने पानीका थोपाहरू उही फर्मुला ‘एचटुओ’ का होलान्, तर तिनीहरूले भिजाउने माटोको तिर्खा फरक हुन्छ। हामीले सुविस्ताका लागि, सजिलोका लागि प्रकृतिको यो अराजक परिवर्तनलाई एउटा व्यवस्थित ढाँचामा ढालेका छौँ। ‘समय उही हो’ भन्नु हाम्रो मानसिक बाध्यता हो। नत्र त हरेक पल नयाँ ब्रह्माण्डको सृष्टि भइरहेको छ। विज्ञानले पनि भन्छ- एन्ट्रोपी बढिरहेछ । व्यवस्थाबाट अव्यवस्थातर्फको यात्रा नै समयको दिशा हो। फुटेको कप कहिल्यै आफैं जोडिदैन । पोखिएको दूध फेरि गिलासमा फर्कदैन। यो ‘नफर्कने’ गुण नै समयको असली चरित्र हो, आवृत्ति होइन ।

मान्छेहरूको भीडमा उभिएर हेर्छु। कोही हतारमा छन्, कोही सुस्त। कसैको अनुहारमा नयाँ प्रेमको चमक छ, कसैको अनुहारमा भर्खरै गुमाएको प्रियजनको शोक। यी सबै मान्छेहरू एउटै घडीको समयमा बाँचेका छन् तर उनीहरूको मानसिक समय नितान्त फरक छ। कसैका लागि अहिलेको समय उत्सव हो, कसैका लागि महाविपत्ति । काठमाडौँको असन चोकमा उभिएर म सोच्छु यहाँ कतिवटा शताब्दीहरू खप्टिएका होलान् ? मल्लकालीन मन्दिरहरू, राणाकालीन दरबारहरू, र आधुनिक सिसाका भवनहरू । यी सबै ‘अहिले’ मा उपस्थित छन् । तर, मन्दिरको ढुङ्गाले बोकेको समय र सिसाको भवनले बोकेको समय छ। मन्दिरको ढु‌ङ्गामा हजारौं वर्षको प्रार्थना, घन्टीको आवाज र धूपको सुगन्ध जमेको छ। त्यो ढुङ्गा स्थिर छ, तर त्यसले देखेका भक्तहरू माटोमा मिलिसके। मान्छे बदलिए, पुस्ता बदलिए, आस्थाका रङहरू बदलिए तर ढुङ्गा उही रह्यो ? अहँ, सूक्ष्म रूपमा हेर्ने हो भने त्यो ढुङ्गा पनि खिइँदै छ । हावाको हरेक झोक्काले त्यसको अणुलाई चलायमान बनाएको छ। हामीले त्यसलाई ‘उही मन्दिर’ भन्यौं, किनकि हाम्रो आयु छोटो छ र हामी ढु‌ङ्गाको परिवर्तन देख्न सक्दैनौँ।

सायद, समय पनि एउटा ठूलो भ्रमजाल हो, जसरी मायालाई पूर्वीय दर्शनमा व्याख्या गरिन्छ । हामी परिवर्तनलाई स्वीकार गर्न डराउँछौं। हामी चाहन्छौं कि हाम्रो प्रेम अमर होस्, हाम्रो जवानी सधैं रहिरहोस्, हाम्रा सम्बन्धहरू उस्तै रहून्। तर, सम्बन्धहरू पनि ऋतुजस्तै हुन्छन् । सुरुमा वसन्तजस्तो न्यानो, अनि वर्षाजस्तो घना, र कहिलेकाहीँ शिशिरजस्तो चिसो। मान्छे उही हुन्छ तर भावनाको आवृत्ति बदलिरहन्छ । हिजो जसलाई देख्दा मुटुको धड्कन बढ्थ्यो, आज उसलाई देख्दा केवल एउटा परिचित अनुहार मात्र देखिन्छ । के प्रेम मरेको हो ? वा प्रेमको रूप बदलिएको हो ? वा समयले हामी दुवैलाई बगाएर अर्कै किनारमा पुऱ्याइदिएको हो ?

मैले आफ्नो दराजबाट एउटा पुरानो डायरी झिकें। पानाहरू पहेंला भइसकेका छन्। त्यसमा लेखिएका शब्दहरू मेरा आफ्नै हुन्, तर पढ्दा लाग्छ यो अर्कै कसैले लेखेको हो। १० वर्ष अघिको ‘म’ ले लेखेको त्यो डायरीमा जुन आवेग थियो, जुन सपना थियो, त्यो आज मभित्र छैन। म त्यही शरीरमा छु, तर म उही होइन। त्यो १० वर्ष अघिको समय र आजको समयलाई जोड्ने एउटै सूत्र हो स्मृति। तर, यो स्मृति आफैंमा कति विश्वासयोग्य छ त ? मनोवैज्ञानिक फ्रेडरिक बार्टलेटले दशकौं अघि सिद्ध गरेझैँ, मानव स्मृति कुनै भिडियो टेप वा क्यामराको रेकर्डिङ होइन, बरु यो त नितान्त ‘पुनर्निर्माण’ हो। हामी अतीतलाई जस्ताको तस्तै कहिल्यै सम्झदैनौँ। बरु एलिजाबेथ लोफ्टसका अनुसन्धानहरूले पुष्टि गरेजस्तै, हामी हरेकपटक सम्झंदा अतीतका घटनाहरूमा अहिलेको वर्तमानको भावना, ज्ञान र पूर्वाग्रह मिसाएर त्यसलाई ‘एडिट’ गछौँ’रे मस्तिष्कमा फेरि ‘सेभ’ गर्छौँ। त्यसैले, एउटा कहालीलाग्दो सत्य के हो भने हाम्रो अतीत पनि स्थिर छैन, त्यो पनि हाम्रो वर्तमानसँगै निरन्तर बदलिरहन्छ ।

परिवर्तनको यो महासागरमा केही कुरा स्थिर छैन भने, हामी किन ‘उही समय’ को रटान लगाउँछौं? सायद, स्थिरताको खोजी नै मानव मनको सबैभन्दा गहिरो तृष्णा हो। हामी बुद्धका मूर्तिहरू बनाउँछौं, पिरामिडहरू ठड्याउँछौँ, महाकाव्यहरू लेख्छौँ किन? ताकि समयको प्रवाहलाई केही क्षणका लागि रोक्न सकियोस् । हामी चाहन्छौं कि हाम्रो छाप यो पृथ्वीमा रहिरहोस् । तर, समयको महाकालले सबैलाई निल्छ । ओजिमान्डियासको घमण्डलाई बालुवाले पुरेझैँ, हाम्रा सबै उपलब्धिहरू परिवर्तनको हुरीले उडाइदिन्छ । तैपनि, एउटा अनौठो विरोधाभास छ जब म राति आकाशमा ताराहरू हेर्छु, ती ताराहरूको प्रकाश लाखौँ वर्ष पुरानो हो। म आजको आकाशमा लाखौँ वर्ष पुरानो अतीत देखिरहेको छु। मेरो ‘अहिले’ र ताराको’अहिले’ बीच समयको विशाल खाडल छ। ब्रह्माण्डको घडीमा मान्छेको जीवन आँखा झिम्क्याउनुजति पनि छैन ।

समयलाई हामीले लक्षण र विशेषताका आधारमा चिन्ने हो। जाडो बढ्यो हिउँद आयो। गर्मी बढ्यो-गृष्म आयो। तर, के जाडो र गर्मी मात्र समय हो ? समय त त्यो शून्यता पनि हो, जहाँ कुनै घटना घट्दैन । जब कोही ध्यानमा बस्छ, उसले समयको शून्यतालाई छुन्छ। त्यहाँ न घडीको टिक-टिक हुन्छ, न ऋतुको परिवर्तन । त्यहाँ केवल अस्तित्वको बोध हुन्छ। सायद, त्यो विन्दुमा पुगेर मात्र भन्न सकिन्छ – समय उही हो। किनकि त्यहाँ समय नै लोप हुन्छ। जसरी निद्रामा समयको ज्ञान हुँदैन, त्यसरी नै पूर्ण चेतनामा समयको भ्रम टुट्छ । तर, हामी सांसारिक मान्छेहरू, जो घडीको सुईसँगै दौडिरहेका छौं, हाम्रा लागि समय भनेको परिवर्तनको अर्को नाम हो।

कहिलेकाहीँ मलाई लाग्छ, हामीले समयलाई एउटा पात्र बनाएका छौं। एउटा यस्तो पात्र जो कहिले क्रूर हुन्छ, कहिले दयालु। जसले घाउ पनि दिन्छ र मलम पनि लगाउँछ। ‘समयले घाउ पुर्छ’ – यो उखान हामी कति सजिलै भन्छौँ। तर, के साँच्चै समयले घाउ पुर्ने हो? वा हामी घाउ बोकेर हिँड्न बानी पर्ने हो ? वा हाम्रो चेतनाले पीडाको तीव्रतालाई बिस्तारै कम गर्दै लैजाने हो? घाउ उही रहन्छ, खत बनेर। मान्छे बदलिसक्छ, तर खतले विगतको कथा भनिरहन्छ। यो खत नै समयको पदचाप हो।

हाम्रो समाज, संस्कृति, र राजनीति पनि समयको यो बहावमा काठका टुक्राझैँ बगिरहेका छन् । हिजोका मूल्यमान्यताहरू आज भत्किएका छन्। हिजो जसलाई पाप ठानिन्थ्यो, आज त्यो जीवनशैली बनेको छ। हजुरबाले भन्ने ‘कलियुग’ सायद यही तीव्र परिवर्तनको नाम हो। प्रविधिको विकासले समयको गतिलाई झन् बढाइदिएको छ। पहिले चिठी पुग्न महिनौँ लाग्थ्यो, आज एक सेकेन्डमा सन्देश पुग्छ। के यसले हाम्रो समय बचत गर्यो ? होइन, यसले हामीलाई झन् व्यस्त बनायो। हामीले समयलाई जति जित्न खोज्यौं, समयले हामीलाई उति नै कस्यो। हामीसँग घडीहरू महँगा भए, तर समय सस्तो भयो। हामी हतारमा छौं, तर कहाँ पुग्न ? सायद चिहानसम्म। चिहान जहाँ गएर अन्ततः सबै परिवर्तनहरू रोकिन्छन् वा अर्को रूप लिन्छन् ।

मृत्यु – समयको सबैभन्दा ठूलो व्यङ्ग्य। मान्छे मर्छ, तर उसको हातको घडी चलिरहेको हुन्छ। प्रकृतिको ऋतु चलिरहेको हुन्छ। सडकमा गाडीहरू गुडिरहेका हुन्छन् । जसका लागि ब्रह्माण्डको अन्त्य भयो, उसको लागि बाहेक अरू कसैका लागि केही रोकिँदैन। यो देख्दा लाग्छ, समय कति निष्ठुरी छ। यसलाई हाम्रो अस्तित्व, हाम्रो वेदना, हाम्रो प्रेमसँग कुनै सरोकार छैन। यो केवल एउटा मञ्च हो, जहाँ हामी आउँछौं, आफ्नो भूमिका खेल्छौं, र विदा हुन्छौँ। मञ्च उही रहन्छ (वा रहेको भ्रम हुन्छ), तर पात्रहरू फेरिइरहन्छन्त्यसो भए, निष्कर्ष के त? के समय उही हो वा होइन ? सायद, समय एउटा सर्पजस्तै हो, जसले आफ्नै पुच्छर टोकेको छ। यो गोलाकार देखिन्छ, तर यो निरन्तर घस्रिरहेको छ। हामीले देख्ने ऋतुको पुनरावृत्ति, घडीको घुमाइ – यी सबै सतहका दृश्य हुन्। गहिराइमा भने केवल परिवर्तन छ। बुद्धले भनेको ‘अनित्य’नै एकमात्र नित्य सत्य हो। मान्छे बदलिनु, वस्तु थोत्रिनु, सम्बन्ध फेरिनु यो कुनै त्रुटि होइन, यो नै ब्रह्माण्डको स्वभाव हो। हामीले यो परिवर्तनलाई रोक्न खोज्दा नै दुःख पाउँछौं।

मैले कोठाको बत्ती निभाएँ। अँध्यारोमा घडीको ‘टिक-टिक’ झन् टड्‌कारो सुनियो। यो आवाज समयको होइन, यो मेरो मुटुको धड्कनको प्रतिध्वनि हो। जबसम्म म सुन्छु, समय छ। जब म सुन्न छोड्छु, मेरो लागि समयको अन्त्य हुन्छ, चाहे बाहिर हजारौं वसन्तहरू किन नआऊन्। त्यसैले, समय बाहिरको घटना होइन, यो भित्रको अनुभव हो। हामीले नाम दिएको ‘उही समय’ वास्तवमा हाम्रो मनले खोजेको एउटा सान्त्वना मात्र हो। नत्र त हरेक पल, हरेक श्वास, र हरेक धड्कन नितान्त नौलो, अद्वितीय र कहिल्यै नफर्कने अन्तिम विदाई हो।

म झ्यालबाट बाहिर हेर्छु, सहर निदाइसकेको छ। तर, यो निद्रा पनि कहाँ उही हो र ? भोलि ब्यूँझने सहर आजको सहर हुनेछैन । र, भोलि ब्यूँझने ‘म’ पनि आजको ‘म’ हुनेछैन। यही नै जीवनको सुन्दरता हो, र यही नै यसको क्रूरता पनि। समयको आवृत्ति केवल एउटा भ्रम हो, सत्य त केवल अविरल यात्रा हो-कतैबाट कतै नपुग्ने, केवल गइरहने। र, म त्यही यात्राको एउटा सानो यात्री, आफ्नो बद्लिँदो छायालाई ‘समय’ नाम दिएर हिँडिरहेको छु।