अर्घाखाँचीकी ३४ वर्षिया शान्ता बन्जाडे गम्भीर घरेलु हिंसामा परिन् । आफ्नै श्रीमानबाट चरम यौन शोषण र अप्राकृतिक यौन जबरजस्तीका कारण मरणासन्न अवस्थामा छिमेकी र छोराको सहयोगमा अस्पतालको बेडमा पुगिन् । त्यस्तै गुल्मीको अर्को घटनामा ३ महिनाको छोरालाई दुध चुसाइरहेकी आमाको काखबाट नाबालक छोरालाई थुतेर भुइँमा पछार्दा बच्चाको ज्यान गयो । आमाको केही समयअघि नै पिटेर खुट्टा भाँचिदिएका थिए उनका श्रीमानले । यस्ता खबर बाहिरिदा मानवीय चेत भएका सबैलाई मर्माहत बनउँछ । केही समयअघि मैले यस्तै एक हिंसात्मक घटनाबाट बचाएकी एक महिलाको बिषयलाई शब्दमा उतार्ने प्रयास यस लेखमा गरेको छु । उनलाई एक प्रतिनिधि पात्र बनाइरहदा मन भारी भएको छ ।
सबैभन्दा सुरक्षित र आत्मिक हुनुपर्ने श्रीमानबाट असुरक्षित र अमानवीय यातना भोग्नुपरेको घटना सुन्दा मानवीयतामाथि नै प्रश्न चिन्ह तेर्सिएको छ । शारीरीक हिंसाका कारण थुप्रै महिला नारकीय जीवन बाँचिरहेका छन् भने कतिले हत्या हुन या आत्महत्याको बाटो रोज्न समेत बाध्य पारिएका छन् । समाजका अगाडि भलाद्मी, कोमल, व्यवहारिक, आर्थिक, मानसिक र शारीरिक रुपमा स्मार्ट देखिएका पुरुषभित्रका पशुवत व्यवहार भोग्ने श्रीमतीलाई मात्र थाहा हुन्छ अरुलाई हुँदैन । अन्याय विरुद्ध विद्रोही आवाज निकाल्ने हो भने पनि गल्तीको पूर्ण जिम्मेवार महिलालाई नै बनाउँछ समाजले । प्रायजसो सम्बन्ध बिग्रिनु या हिंस्रक बन्नुको पछाडि मुख्य कारण शारीरिक सम्बन्धसँग जोडिएको हुन्छ । विवाह भनेको बैधानिक जबरजस्तीको लाइसेन्स सम्झने पुरुष मानसिकता अझै व्याप्त छ भन्ने कुरा दिनहुँका समाचारले प्रष्ट पारिरहेको छ । हाम्रो सामाजिक अवयवमा संस्कारका नाममा, अनुशासनका नाममा अंगालिएका विकृत कुराहरुलाई परिवारको शान, समाजको मानको रुपमा महिलाले बचाउनुपर्ने ट्याग झुन्डाइएको छ ।
केही दशक अघिसँग तुलना गर्दा अहिले मानिसका सोचाइ व्यवहार निकै परिवर्तन भएका छन् । केही संख्यामा भएपनि महिला-पुरुष समान हैसियत, अधिकार र क्षमतामा सक्षम भएका छन् । यो संख्या निश्चय पनि बढ्ने विश्वास गरिएको छ। गरिबी र अशिक्षाले मात्र होइन शिक्षित र सम्पन्नताभित्र पनि महिलामाथि हुने हिंसाको अवस्था जर्जर अनि विकराल छ । अझै पनि समाजले महिलाको अस्तित्वलाई स्वीकार्न सकेको छैन । भोग्य वस्तुको साधन र पुरुषत्वको दम्भ लाद्ने विकृत सोचको पर्दा उत्रिन बाँकी नै देखिन्छ । मानिसको सोच जंगली युग र तानाशाही प्रवृत्तिको अवस्थाबाट भिन्न हुन नसकेको अवस्था अझै कहालिलाग्दो छ ।
“भाउजु म बाँच्छु भन्ने नै लाग्दैन । मलाई कुन दिन, कतिखेर मार्छ त्यसले । कस्तो अभागी कर्म लिएर जन्मेछुँ ।” के भन्दैछिन् यिनी विश्वास नै लागेन । स्मार्ट, शिक्षित, सधै हाँसेर बोल्ने । हालखबर सोध्दा एकदम ठीक छु भन्ने म भनेपछि हुरुक्कै हुने ती बहिनीको कुराले अकस्मात तरङ्गित बनाइदियो । मेरो विषयमा चिन्तित हुने असाध्यै माया गर्ने आफन्ती बहिनीको मुखबाट सुनेका यी कुरा मलाई विश्वास नै लागेन । “के भयो तपाईँलाई, के चल्दैछ तपाईँको जीवनमा । कसले मार्छ तपाईँलाइ ?” एकै सासमा सोधेँ । सँगै उनका दुई साना नानीहरु पनि थिए । तिनीहरुको अनुहारमा कुनै खुशीको संकेत थिएन । निलो-कालो, अध्यारो, डराएको, लजाएको सबै कुरा भएर पनि केही नभएको जस्तो भाव स्पष्ट देखिन्थ्यो ।
“मेरो बुढो ठीक छैन भाउजु । त्यो त घरमा कहिले नआए पनि हुन्थ्यो । त्यसको अनुहार देख्न नपरे हुन्थ्यो । घरमा आयो कि झगडा मात्र गर्छ । कहिले शान्तिसँग बस्न दिन्न । बाबा आउने भनेसी नानीहरु पनि थरथर काम्छन् । यसले हामी आमा छोरीलाई बाँच्न नदिने भो कुन दिन मार्छ । दिनहुँ रक्सी खाएर आउँछ । तिमीहरुका आमा छोरीलाई एउटै कोठामा थुनेर आगो लगाइदिन्छु धेरै पटक भनिसक्यो । त्यसको बाइकमा पछाडि बस्न पनि डर लाग्छ कहाँ लगेर गुल्टाएर मारिदने हो कि जंगलमै छोडेर हिड्ने हो घर नपुगुन्जेल म जिउँदै घर पुग्छु कि पुग्दिन नानीहरुको अनुहार हेर्न पाउँछु कि पाउँदिन भन्ने त्रास हुन्छ । बाइकको पछाडि बस्दा हे भगवान ! मलाई यो राक्षसबाट बचाइदिनुस्, नत्र मेरा दुई नानीहरु टुहुरा हुनेछन्, यसले तिनीहरुलाई पनि बाँच्न दिनेछैन भनेर प्रार्थना गर्दै हिड्छु । कति पटक जंगलको बीचमा लगेर छोडेर हिडेको छ । सडकमा बाइक रोकेर जंगलतिर लिएर जान्छ । खुट्टा ढोगेर प्लिज मलाई घरसम्म पुर्याइदे मेरा नानीहरुको मुख हेर्छु भनेको छु । यो जंगलमा नछोडनुस् भनेर अनुनय विनय गरेर घर पुगेको छु । आफु काम गरेको पैसा के गर्छ थाहा छैन मलाई एक रुपैयाँ दिदैन । अब त नानीहरु ठुला भए म केही काम गर्छु । नानीहरुले भनेका खानेकुरा पनि खुवाउन नसक्ने भए भनेको तलाई अर्को बुढो चाहिएर यो घरबाट निस्किने बहाना खोजेकी हैनस् भनेर पशुवत व्यवहार गर्छ । मोबाइल चलाउन हुदैन । भाइले किनेर पठाको मोबाइल नी फुटाइदियो । के भनुँ भाउजु कता जानु के गर्नु मर्न पाए आनन्द हुन्थ्यो भन्छु नानीहरु सम्झन्छु त्यो आँट पनि आउँदैन । नानीहरु के भन्छन् बाबाको व्यवहार उनीहरुलाई थाहा छ ? किन नहुनु एक एक थाहा छ । मलाई एकछिन छोड्दैनन् । ममी हामी छौ नरुनुस् हामी ठुलोभएसी यसलाई लातैलातले हान्छौ । अहिले तपाईँलाई दिएको दुःखको बदला हामी लिनेछौ । यसलाई छोड्दिनुस् न हामी पानी मात्र खाएर बाँच्छौ बरु शान्तिसँग बाँचौ कतै टाढा भागेर जाऔँ न यो आउन नसक्ने ठाउँमा” सँगसँगै रुँदै भन्छन् ।
कुनै फिल्मको कहानी सुनिरहेको जस्तो लाग्छ मलाई । ती नानीहरुलाई बोलाएर उनीहरुसँग बुझेँ । भान्जी तपाईँहरुलाई बाबाको माया बढी लाग्छ कि ममीको ? “ह्या.. माइजु त्यो बाउ भन्नेको त नाम पनि लिन नपरोस् अनुहार पनि देख्न नपरोस् एक्सिडेन्ट परेर मरिहाले पनि हुने । मेरो ममीलाई कति दुःख दिएको छ हामीलाई कति धेरै सताएको छ माइजु । म ठुलो त होऊँ न! त्यसलाई मारेर जेल जान्छु ममीलाई सुख त हुन्छ । माइजु! थाहा छ म सधै सिरानीमा चक्कु राखेर सुत्छु त्यसले निहुँ खोज्न आयो, ममीलाइ पिट्न लाग्यो भने पछाडिबाट चक्कुले रोपेर ढलाईदिन्छु ।” सात वर्षीय नानी यसो भन्दैथिइन् । हे प्रभु ! म के सुनिरहेछु आफ्नो बाबाप्रति यति विध्न आक्रोश कसरी आयो यी बच्चीलाई? कतै ममीले बाबाको विरुद्ध भड्काएर त होइन, मलाई दुविधा पनि भयो । जुन कुरा सुनिरहेको छु आमा छोरीको मुखबाट केही प्रतिशत मात्र सत्य अरु असत्य पनि हुनसक्छ भनेर सम्झाउन थाले । नानी सम्बन्ध यस्तो हुनुमा, कतै तपाईँको पनि केही कमी कमजोरी छ कि । केही नभइ यस्तो व्यवहार गर्लान् भनेर पत्याउन गाह्रो भयो मलाई । तपाईँले आफ्नो गल्ती कमजोरी कुन ठाउँमा छ? के कारणले सम्बन्धमा यति हिंस्रक स्थिति सिर्जना भएको छ? त्यस्को अनुमान तपाईँ स्वयले पनि गर्नुपर्छ है!, आफ्नो कमजोरीलाई स्विकार्दै सुधार्दै अघि बढ्नुपर्छ । बुढाबुढीको सम्बन्धमा कहिलेकाही ठाकठुक हुन्छ । चित्त नबुझेका, मन नपरेका कुरा बच्चाको अगाडि होइन दुईजना बसेर मन्थन गर्नुहोला झगडा, गरेर होइन । नानीहरुको दिमागमा समेत नकारात्मक असर परेको देखिन्छ, ज्वाईँको मात्र गल्ती अवश्य छैन होला, त्यसमा केही हिस्साको भागेदार तपाईँ पनि हुनुपर्छ । अधिकांश सम्बन्धमा झगडाको जड शारीरिक सम्बन्धबाट नै हुन्छ। त्यसलाई मानसिक, भावनात्मक, शारीरिक कुन तरिकाले समाधान गर्न सकिन्छ, भरपुर समाधानको बाटोतिर लाग्नुस् । जहाँ समस्या त्यहीँबाट समाधानको बाटो निस्किन्छ है । माया, सम्मान र एकअर्काबीच हेरचाहको भूमिका निर्वाह गर्नुस्, सम्बन्धमा सुधार आउनसक्छ ।” भनेर करिब दुई वर्षअघि यसरी नै सम्झाएको थिएँ । बीचमा कहिलेकाही कुरा हुँदा “उस्तै त हो नि, नानीदेखि लाएको बानी, कहिले सुध्रिन्छ र भाउजु! उस्तै हो, त्यसको केही कुरै गर्न मन लाग्दैन” उनी हाँसीहाँसी टार्न खोज्थिन् । उनको व्यक्तिगत कुरामा धेरै चासो राखी भनेर नराम्रो मान्न सक्लिन् भनेर कुरा अगाडि बढाउन सकिनँ । उनको ममीलाइ पनि ज्वाईँ खराब छन् भन्ने लागेको रहेछ । ज्वाईँ गतिला छैनन्, दुःख पाउने भई, आफैले रोजेर बिहे गरेकी, नगर भन्दाभन्दै मानिन । बिहे गरेर दियौँ, अब जेसुकै गरोस् आफ्नो बुद्धीले आफै दुःख पाई।” ममीको कुराले पनि बिजाउँथ्यो मनमा ।
“ज्वाईँ हेर्दा हेन्डसम, बोली वचनमा मिठास, व्यवहारिक सहयोगी देखिन्थे । भाउजुको खुब प्रशंसा गर्छन्,कुरा गरी रहन्छन्”भनेर सुनाउँथि तिनै बहिनीले पनि । भेटेको बेलामा हाम्रो घरतिर घुम्न आउनु न एक दुईदु दिन राखेर खुवाउन सक्छु भन्थे । ज्वाईँ खराब हुन् कि आमा छोरी म दुविदुविधामा थिए । नानीहरुको कुराले चाही मुटु चस्काइरहन्थ्यो । आफ्नै बाबुप्रति नकारात्मक विचार राख्ने ती कलिला छोरीहरुले “बाबा घरमा कहिले नआए हुन्थ्यो । हामी ठुलो भएसी त्यस्को मुख पनि हेर्दैनौ , यो ममीलाई डिभोर्स दिनुभन्दा मान्नुहुन्न” भनेपछि साँच्चै त्यो पुरुष खराब नै हो त? एक्लै हुँदा पनि मनमा कुरा खेल्थेँ ।
(पाँचखाल नगरपालिका ११)
क्रमश:


