(विवाह बलात्कारको बैधानिक लाइसेन्स होइन । भाग -२)
करिब दुई वर्षपछि असार १४ गते भिडियो कल गरिन् बहिनीले । अनुहार अध्यारो थियो , तर पनि मुस्कुराउँदै सन्चो बिसन्चो सोधिन् । हामी ठीक छौ तपाईँलाई भान्जीलाई कस्तो छ ? ठीक छ,जवाफ आउँछ भन्ने आशामा थिएँ, “ठीक छैन भाउजु ठीक छैन” भनिन् यसपाली । “किन के भयो नानी ? कि चेनमा ताल्चा लगाएर हिडेका छन् । तेरो सबै सामान लिएर मेरो घरबाट निस्की अनुहार देख्न नपरोस् बेलुका आउँदा भनेर झगडा गरेर हिडेका छन् । मैले एक शब्द पनि फर्काकी छैन । रातभरी सुतेका छैनौ हामी आमा छोरी । छिमेकीको घरको वाइफाइले कुरा गरिरहेको छु, मोबाइलमा पैसा पनि छैन कल गर्नलाई ।” त्यति खेरै मोबाइलमा पैसा हालि दिएँ र वास्तविकता के हो भन्नुस् भनेँ । भाउजु! म
कहाँ जाऊँ? के गरुँ? माइत जाऊँ बिहे गरेर दिएसी घर गरेर खानुपर्छ, छोरी मान्छेले सहनुपर्छ भन्नुहुन्छ बाबा ममीले । हामीले कति सहेर आयौ सहनुपर्छ भन्नुहुन्छ ममीले । यहाँ यो राक्षसले रातो दिन निस्केर जा भन्छ, कहाँ जानु” भक्कानिदै रुन थालिन् । नानी नरुनुस् म छु। तपाईँको लागि । त्यसो भन्नुको कारण केही त होला नि । “भाउजु मुटु कमजोर भएको छ । मेरो श्वास-प्रश्वासमा पनि समस्या आएको छ,थाइराइड समस्या बढेको छ, प्रेसर छ, शरीर शिथिल भएको छ, साह्रै गाह्रो हुनलाग्यो , मर्निङ वाक जाँदा अलि ठीक हुन्छ की भनेर आज बिहान छिटो उठेर गएको थिए । फर्केर आउँदा “काका पर्नेसँग सुतेर आइस् भनेर तथानाम बोल्दै मलाई चरित्रहत्याको आरोप लगायो अनि निस्की जा भनेको कुरा यही हो । सबै कुरा सहेको थिए आज त एउटा बाबा सरहका छिमेकी अंकलसँग नामै जोडेर आरोप लगायो भाउजु, निहुँ मेरो मर्निङवाकको हो ।”
मन वेचैन भयो , अझ उनलाई नै सोधेँ-“के तपाईँको चरित्र माथि लगाएको आरोप शतप्रति शत झुठा हो ?” “भाउजु, मेरा नानीहरुको कसम! म आजका दिनसम्म कसैसँग कुनै किसिमको सम्बन्ध बनाएको छैन । त्यसलाई किरा पर्छ, पाप लाग्छ, तर कहिले लाग्छ?” भन्दै उनी रुन थालिन् । अघिल्लो दिन पिटेर चोट लागेको घाउ देखाइन्, निधारमा । “अब म सहन सक्दिनँ भाउजु, यो सँग डिभोर्स गर्छु कि मर्छु । मानसिक,शारीरिक, आर्थिक, सामाजिक सबै हिंसा सहेँ अब सहन सक्दिनँ । सुधार्ने प्रयास धेरै गरेँ, अब सकिन मलाई यो बाट छुट्कारा चाहियो ।”
“तपाईँको साथमा म छु, तपाईँमा नसिक रुपमा अगाडि बढ्नुस्, तपाईँलाई सक्ने सहयोग म गर्नेछु” भन्दै मैले त्यहीँ बाट राष्ट्रिय महिला आयोगको हेल्पला इन १४१४ मा घरेलु हिंसाको उजुरी टिपाउन लगाएँ । अनि उनी नानीहरु लिएर काठमाडौ आइन् । केस दर्ता भएपछि त्यो पुरुषलाई छलफलको लागि राष्ट्रिय महिला आयोगले बोलाउँदा मादक पदार्थ सेवन गरेर आयो उही चरित्र हत्याको अडान लिँदै । “मादक पदार्थ पिएर आउनुभको ? भन्दा “बुढीले छोडेपछि रक्सी नपिएर जुस पिउनु त ?” भनेर खित्का छोडेर हाँस्यो । सम्बन्ध बिच्छेदमा राजी भयो , तर
फोन र मेसेजबाट धम्काउने र गलत अश्लिल तस्वीरहरु पठाउने । नान हरुलाई अश्लिल शब्द बोल्ने र बारम्बार तीन आमा छोरी कोठी खोलेर बस भन्ने जस्ता अडियो मेसेज पठाउन छोडेन । मोबाइल ब्लक गर्दा अरुको मोबाइलबाट समेत पठाउँथ्यो । यस्तो व्यक्ति सँग बस्नु भनेको असुरक्षा र गलत हो , भोली जे घटना पनि घट्नसक्छ, छुट्टा छुट्टै बसेको ठीक हुन्छ भन्ने आयोगको ठहर भएपछि सम्बन्ध बिच्छेदको फाइल
अघि बढ्यो ।
“बल्ल यो बाट छुट्कारा पाइने भयो माइजु, हजुरलाई थ्याङ्क्यु सो मच माइजु, मेरी प्यारी माइजु” भनेर सात वर्षकी बच्ची खुशी ले उफ्रिन थालिन् । भाउजु म बाँच्न पाउने भएँ भनेर बहिनी खुशीले रुन थालिन् । सम्बन्ध बिच्छेद भएको दिन पार्टी गर्नुपर्छ है माइजु । म ठुलो भएपछि माइजुलाई गिफ्ट दिन्छु भन्दै गर्दा मेरा आँखा बाट आँशु झरेको पत्तै भएन । आमा छोरी खुशीले उफ्रिएको देख्दा लाग्यो खुशी सधै मिलनमा मात्र आउँदैन बिछोडमा पनि आउँदो रहेछ, दुः खमा पनि खुशी हुने ठाउँ हुनेरहेछ । जब दुः खले पनि एउटा पराकाष्ठा नाघ्छ त्यहाँ पनि
अर्को तरिका बाट खुशीको आभास मिल्नेरहेछ ।
बहिनीलाई “भौतिक रुपमा टाढा भए पनि मानसिक रुपमा सताउन कुनै कसुर बाँकी राखेन, तिमीलाई चाहिने सम्पति दिएर डिभोर्स गरौँ आऊ घरमा , सल्लाह गरेर अदालत जाऊ भनेर बोला यो । म एक्लै जादिनँ त्यसले मार्न बोलाको हो भाउजु त्यो धेरै चलाख मान्छे छ, तपाईँ जाने भए मात्र जान्छु” भनिन् । मेरो प्रयासले उनलाई जसरी पनि त्यो नर्कबाट निकाल्नु थियो , त्यसका लागि मेरा दुईदु बच्चालाई मात्र घरमा छोडेर उनको घर गएँ । गाउँ, समाजका भद्रभलादमी , शिक्षक, खानेपानी संस्थानका हाकिम र पालिकाका प्रशासकीय अधिकृत सहितका आफन्तीहरु सहमति गराएर विवादको समाधान मिलाउन जम्मा भएका रहेछन् । बहिनीका घरतिरका मान्छे “डिभोर्सले हाम्रो परिवारको इज्जत जान्छ, कुनै हालतमा गर्नुहुन्न, हामी यसो हुन दिदैनौ ” भनेर कड्किन थाले । दुवैदुवैपक्षको कुरा बुझ्दा महिला होइन पुरुष खराब रहेछ भन्ने बुझे ।
उपस्थित सबैले छोरा खराब हो , बुहारी होइन भन्दै थिए । पुरुषलाई गाली गरि रहेका थिए, तर महिलाको पीडा र यातना नजर अन्दाज गर्दै लथालिङ्ग घर सम्हाल्न बाबु आमाको स्याहार गर्न र बिग्रेको छोराको चाहना पुरा गर्न घर छोड्न नहुने र नदिने कुरामा गाउँका भद्रभलादमी सबै एकमत थिए । दिनहुँको मानसिक र शारीरिक यातनाले दयनीय अवस्था भएको र शरीरको असुरक्षा भइसकेको अवस्था देख्दा देख्दै पनि कुलको , परिवारको , समाजको इज्जतको लागि बसि दिनु पर्ने कुरालाई ठाडै अस्वीकार गर्न भनेँ । किनकी उनले श्रीमानबाट पाएका कोठा भित्रका यातना मलाई सुनाएकी थिइन् । जुन सबै कुरा समाजका अगाडि , परिवारका अगाडि भन्न नसकिने थिए । ज्यानको असुरक्षा हुने, मानसिक शारीरिक यातनामा पनि समाजले डिभोर्सलाई नस्विकारेर उल्टो म माथि नै घर भाड्न आएकी, उचाल्न आएकी भनेर म माथि नै खनिए । उनलाई भड्काउने र घर बिगार्ने आईमाई भनेर उल्टो मलाई नै गलत सावित गराउन थाले । अन्यायको विरुद्ध साथ दिएर नारकीय जीवनबाट उतार्न गएको म उनीहरुको कुराले दुखी होइन झनै लड्ने ऊर्जा बढायो । बहिनी भन्दै थिइन् “यसलाई श्रीमान भनेर अझै बस्नुपर्छ भने यही विष पिएर मर्छु” भनेर रुन थालिन् । एउटा महिलाको आँशुको मूल्य त्यहाँ निष्फल थियो कुनै हालतमा घर छोडेर जान नदिने भनेर समाज नै रोक्न आएको अवस्थामा प्रहरी लाई खबर गरी प्रहरीको रोहबरमा आफ्ना सामान लिएर निस्कियौँ । घरबाट सामान चोरेको केसमा उजुरी हाल्छु भनेर धम्काएको कारणले पनि प्रहरीको सहयोग लिनुपर्ने बाध्यता थियो ।
उनी राती नसुतेको कैयौ वर्ष भएको रहेछ, आँखामा निन्द्रा भन्ने छँदै थिएन । आफ्नो घरमा पलपल असुरक्षित महसुस गरेर पन्ध्र वर्ष बिताएकी रहिछिन् । “भाउजु, मलाई एक्लै नछोड्नु है!” भनेर ट्वाइलेट जादा समेत सँगै जान भन्थिन् । कोठामा बस्दा चुकुल राम्ररी लागेको छ कि छैन चेक गरि रहन्थिन्, झ्यालबाट एसिड छ्याप्न सक्छ भनेर झ्याल सबै बन्द गर्थिन्। खानाको स्वाद र रुची भन्ने केही थिएन । बाटोमा हिड्दा कतैबाट आएर खुकुरी हान्छकी भनेर मसँग टाँसिएर हिँड्थिन् उनी । ध्यान सधै दाया बाया त्यो कहाँ लुकेर आएर मार्ने हो की भन्ने मात्र थियो उनको दिमागमा । मलाई कल्पना भन्दा माथिको लागिरहेको थियो उनको क्रियाकलाप । ससुरा जड्याहा , सासु अमेरिकाबाट बुहारीले सुख काटी त्यसलाई दुः ख कटाउनुपर्छ भन्ने, घरमा सफा गर्ने, काम गर्ने, बाबु आमा र दिदी बहिनीलाई खुशी राख्ने, श्रीमानको चाहना अनुसार सुति दिनुपर्ने, छोरीहरुको अगाडि पनि जबरजस्ती गर्न खोज्ने । उसको चरित्र हत्या गरेर हुन्छ की कुन उपायबाट हुन्छ पशुवशुत व्यवहार गरेर भए पनि सम्बन्ध बनाउने, घर जाने बाटो सम्झदा पनि डर लाग्छ, जंगल आयो कि मुटु काप्छ । जंगलको बीचबाटोमा बाइक रोकेर जंगल हिड भनेर लग्ने नरपशु रहेछ । त्यसैले घर जाने बाटो पनि उनका लागि असुरक्षि त रहेछ । बाटो भरी उनका आन्तरिक कुराहरु सुन्दै गएँ। कति भयानक पीडा सहेर धन्न बाँचेकी रहिछिन्। किन सहनु भयो यतिका वर्षदेखि यस्ता यातना भन्दै रुँदै सम्झाउँदै गएँ । “त्यो नरपिचाशको घरमा छोडेर आउन मेरो मानवताले दिदैनथ्यो , चाहे जस्तो सुकै चुनौती मोल्न परे पनि पछि हट्दिन भनेर काठमाडौ लिएर आए ।”
त्यसपछिका जीवनका चुनौती समस्या त छदैछन् । माइतीमा गर्ने व्यवहार, समाजले हेर्ने दृष्टिकोण, आफ्नैबाट गरिने तिरष्कारको छुट्टै कहानी सुरु भइसकेको छ । तर पनि उनीमा आएको आत्मविश्वासले मलाई अत्यन्त खुशी बनाएको छ । “भा उजु! अब म बाँच्छु, मेरो जिन्दगी बचाउनुभयो , धेरै धन्यवाद ! अब संघर्षको मैदानमा होमिएर शान्ति साथ बाँच्नसक्छु भन्ने आशा पलाएको छ, म धेरै बलियो भएको छु, बाहिर निस्किने आँट पलाएको छ । मैले कस्तो जिन्दगी बाचेको रहेछु अहिले फर्केर हेर्दा आफै तर्सिन्छु” भन्दै उनले करिब पाँच महिनामा अनुभूत गरेकी छन् ।
हिंसा सहेर बस्ने होइन, धेरै सहने बानीले हिंसा गर्नेको मनोबल उच्च बनाउँछ, समस्या आफै समाधान गर्न सकिएन भने आफ्ना कम्तीमा दुई विश्वासिला व्यक्तिलाई भन्नुपर्छ । एकजना न एकजनाबाट सकारात्मक सुझाव र सल्लाह पाउन सकिन्छ । शारीरिक सम्बन्धको समस्यालाई डर-लाजको कारणले लुकाउने प्रवृत्तिवृत्तिले नै समाजमा अझ बढी हिंसा र हिंसात्मक घटनाहरुले प्रश्रय पाइरहेका छन् । छोरीहरुलाई शिक्षासँगै अन्यायसँग लड्ने र हिंसालाई तिरष्कार गर्नसक्ने बनाउनु अत्यन्त जरुरी छ । महिला पुरुष समानताको धारणा केवल धारणामा मात्र सीमित नराखी व्यवहारिकतामा कति अबलम्बन गरिएको छ स्थानीय तहबाट नै यसको निगरानी र सचेतनाका कार्यक्रमहरु राख्न सके केही हदसम्म घरेलु हिंसा नियन्त्रणको अपेक्षा गर्न सकिन्छ । यसको अन्त्य हुनु जरुरी छ, तर कहिले हुन्छ ? भन्ने कुरा मात्र हो । सम्बन्धित निकायहरु, सरोकार संस्थाहरु र बौद्धिक व्यक्तिहरुले त्यस तर्फ ध्यान दिनु जरुरी छ। यो समयकाे माग पनि हो ।
गंगा खतिवडा (थपलिया)


