सेबोन अध्यक्ष भट्टले सम्हाले जिम्मेवारी, सम्पत्ति शुद्धीकरणविरुद्ध सचेतना कार्यक्रम पहिलो निर्णय

+
-

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गर्दै आफ्नो कार्यकालको पहिलो निर्णयका रूपमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन्।

अर्थ मन्त्रालयमा पद तथा गोपनीयताको शपथ लिएपछि अध्यक्ष भट्टले सेबोन कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन्। मन्त्रिपरिषद्को असार ५ गते बसेको बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। यसअघि तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत वैशाख ४ गते पदबाट राजीनामा दिएका थिए।

पदभार ग्रहणपछि अध्यक्ष भट्टले पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र व्यवस्थित बनाउन सरकारको नीति तथा कार्यक्रमअनुसार इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो ज्ञान, अनुभव र सीपलाई लगानीकर्ताको हित संरक्षण तथा मुलुकको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित गर्ने बताए।

उनले पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन, सुझाव र सिफारिसहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बजारको संस्थागत विकासलाई प्राथमिकतामा राख्ने उल्लेख गरे।

यसअघि शपथ ग्रहणपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष भट्टलाई लगानीकर्ताको हित संरक्षण, बजारको स्थायित्व र सुशासन कायम गर्न निष्पक्ष तथा इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका थिए। साथै, कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य दबाबबाट मुक्त रही पुँजी बजार सुधारका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्न उनले आग्रह गरेका थिए।

अर्थमन्त्री वाग्लेले बजारमा फैलिने अफवाह र अनावश्यक हल्लाका कारण साना लगानीकर्तामा त्रास सिर्जना हुन नदिन प्रभावकारी नियामकीय भूमिका निर्वाह गर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिएका थिए।