गुडविल र बेस्ट फाइनान्सको नाफामा सुधार

+
-

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा आर्थिक जोखिम बढिरहेका बेला गुडविल फाइनान्स र बेस्ट फाइनान्सले चालु आर्थिक वर्षमा नाफा वृद्धि गरेका छन्।

गुडविल फाइनान्सले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा करिब २७ प्रतिशतले नाफा वृद्धि गरेको जनाएको छ। कम्पनीले १४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ। फाइनान्सको खुद ब्याज आम्दानी ६३ प्रतिशतले बढेको छ भने शुल्क तथा कमिसनलगायत अन्य आम्दानीमा समेत सुधार आएको छ।

यद्यपि, अघिल्लो वर्षदेखि सञ्चित नोक्सानी रहेकाले गुडविल फाइनान्सले तत्काल लाभांश वितरण गर्न सक्ने अवस्था भने देखिएको छैन। कम्पनीको वितरणयोग्य नाफा सकारात्मक भए पनि सञ्चित नोक्सानी समायोजन गर्नुपर्ने अवस्था रहेको वित्तीय विवरणमा उल्लेख छ।

बुधबारको कारोबारअनुसार गुडविल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ५०१ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बेस्ट फाइनान्सको वित्तीय अवस्थामा पनि सुधार देखिएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा करिब ३४ प्रतिशतले नाफा वृद्धि गरेको छ।

बेस्ट फाइनान्सको खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो वर्ष करिब १३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ११ करोड रुपैयाँमा झरेको छ। यद्यपि, नोक्सानी व्यवस्थापनबापतको रकम फिर्ता ल्याउन सफल भएपछि कम्पनीको समग्र नाफामा सुधार आएको हो। कम्पनीले १४ करोड ९१ लाख रुपैयाँ नोक्सानी व्यवस्था फिर्ता गरेको जनाएको छ।

बेस्ट फाइनान्सले आर्थिक वर्ष २०७६/७७ यता लाभांश वितरण गर्न सकेको छैन। बुधबार कम्पनीको प्रतिकित्ता सेयर ४०६ रुपैयाँमा कारोबार भएको थियो।