असार १५ मा भक्तपुरको जुजु धौको माग उच्च

अ+
अ
अ-

काठमाडौं, असार १५ — दही–चिउरा खाने परम्परासँग जोडिएको असार १५ का अवसरमा भक्तपुरको प्रसिद्ध जुजु धौ को माग अत्यधिक बढेको छ। बिहानैदेखि भक्तपुरका दही पसलहरूमा उपभोक्ताको भीड लागेको छ भने धेरै पसलमा मध्याह्नसम्मै दही सकिएको व्यवसायीहरूले बताएका छन्।

भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैजु का अनुसार आज एकै दिनमा भक्तपुरबाट करिब एक लाख लिटरभन्दा बढी दही बिक्री हुने अनुमान गरिएको छ। उनले परम्परागत माटोको कतारोमा बनाइने जुजु धौको मात्रै ५० हजार लिटरभन्दा बढी बिक्री भएको जानकारी दिए।

सामान्य दिनमा करिब २०० लिटर दही बिक्री गर्ने व्यवसायीहरूले आज दुई हजार लिटरभन्दा बढी दही मध्याह्नसम्मै बिक्री गरिसकेका छन्। बढ्दो माग धान्न संघमा आबद्ध ४९ व्यवसायी सहित अन्य उत्पादनकर्ताहरू पनि रातदिन दही बनाउन व्यस्त छन्।

व्यवसायीहरूका अनुसार जुजु धौ बनाउन दैनिक करिब २५ हजार लिटर दूध भक्तपुर भित्रिने गरेकोमा असार १५ का लागि यसको मात्रा दोब्बर बनाइएको छ। माटोको भाँडामा बनाइने दही आज प्रतिलिटर रु २५० मा बिक्री भइरहेको छ।

अर्का व्यवसायी रामसुन्दर सैजु ले शुद्ध दूधको अभावका कारण मागअनुसार उत्पादन गर्न कठिन भएको बताए। उपत्यकाका विभिन्न स्थानबाट अर्डर आइरहेको र असार १५ दही व्यवसायीका लागि सबैभन्दा व्यस्त दिन हुने उनले बताए।

व्यवसायीहरूले परम्परागत शैलीमा बनाइएको जुजु धौको गुणस्तर जोगाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार दाउराको चुलोमा बाक्लो बनाइएको दूध, मौलिक भिउँट र ताप सन्तुलनको प्रयोग गरेर बनाइने जुजु धौ नै वास्तविक स्वाद र गुणस्तरयुक्त हुन्छ।

संस्कृतिकर्मी प्रकाशचन्द्र अमात्य का अनुसार मल्लकालदेखि राजाहरूले समेत भक्तपुरको उत्कृष्ट दही सेवन गर्ने भएकाले यसलाई “दहीको राजा” अर्थात् जुजु धौ भनिएको हो।

असार १५ मा दही–चिउराको परम्पराले भक्तपुरको जुजु धौलाई पुनः एकपटक चर्चाको केन्द्रमा ल्याएको छ।