काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व उपाध्यक्ष तथा स्वतन्त्र विष्लेषक रविन्द्र मिश्रले नेपाली कम्युनिस्ट पार्टी संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वर्तमान राजनीतिक अवस्थाको महान पात्र भएको टिप्पणी गर्नु भएको छ।
जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली,नेपाली कम्युनिस्ट पार्टीका सहसंयाेजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रचण्ड एकै स्थानमा उपस्थित भएको प्रसंग उल्लेख गर्दै मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो ।
मिश्रले लेख्नु भएको छ,“प्रचण्डवाद — जिन्दावाद! धेरैपछि पूर्वप्रधानमन्त्रीहरू केपी ओली [प्रचण्डवादी], माधव नेपाल [प्रचण्डवादी], झलनाथ खनाल [प्रचण्डवादी], पुष्पकमल दाहाल ‘प्रचण्ड'[वादी] सबैलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी [प्रचण्डवादी]ले एउटै मञ्चमा लेराएकी छिन्। तर यी सबैलाई एउटै ठाउँमा उभ्याउने क्षमता प्रचण्डमा छ। त्यसैले उनी आफ्नो कालखण्डका महान् नेता हुन्।”
उहाँले संसदमा उल्लेख्य उपस्थिति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि प्रचण्डकै राजनीतिक प्रभावका कारण स्थापित भएको दाबी गर्दै रास्वपालाई समेत “प्रचण्डवादी” को संज्ञा दिनु भएको छ।
पूर्व पत्रकारसमेत रहेका मिश्रले नेपालको हरेक राजनीतिक मोड, सत्ता समीकरण र परिवर्तनका घटनाक्रममा प्रचण्डको प्रभावशाली भूमिका रहेको उल्लेख गर्दै,यी सबै साँच्चै एक ठाऊँमा आए भने उनीहरूको शक्तिलाई कसैले अवमूल्यन नगर्न अनुरोध गर्नु भयो साथै त्यसपछि उनीहरूको प्रतिस्पर्धा रास्वपा [प्रचण्डवादी]सँग हुनेछ।
रास्वपालाई समेत प्रचण्डवादीको संज्ञा दिनु भएका मिश्रले वर्तमान नेपाली राजनीतिमा नयाँ बहसको विषय उठाउने प्रयास गरेको छ ।


