व्यास नगरपालिकाका १३ जना ज्येष्ठ नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ।
नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीका अनुसार मोतियाबिन्दुका कारण दृष्टि समस्याबाट पीडित १३ जना ज्येष्ठ नागरिकको मंगलबार पोखरास्थित हिमालय आँखा अस्पताल, घारीपाटनमा सफल शल्यक्रिया गरिएको हो।
शल्यक्रियापछि ज्येष्ठ नागरिकहरूले पुनः स्पष्ट रूपमा देख्न पाएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले उपचारका लागि आवश्यक समन्वय, व्यवस्थापन तथा सहयोग गरेकोमा व्यास नगरपालिकाप्रति आभार पनि व्यक्त गरेका छन्।
स्वास्थ्य शाखा प्रमुख सोतीले ज्येष्ठ नागरिकको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्दै नगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
व्यास नगरपालिकाले जलेश्वर ज्येष्ठ नागरिक सेवा केन्द्र, व्यास–१ को सहकार्यमा सञ्चालन गरेको आँखा परीक्षण शिविरमार्फत मोतियाबिन्दु पहिचान भएका ज्येष्ठ नागरिकलाई शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन तथा सहजीकरण गरेको जनाएको छ।

