काभ्रेका किसानले अब मल अभाव खेप्नुपर्दैन : सांसद भण्डारी

+
-

२०८३ जेठ २२ शुक्रबार
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बदनकुमार भण्डारीले अब काभ्रेका किसानले रासायनिक मलको अभाव खेप्न नपर्ने बताउनु भएको छ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवौँ जिल्ला सभालाई सम्बोधन गर्दै सांसद भण्डारीले सरकारले आगामी आर्थिक वर्षका लागि मल खरिद गर्न ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गर्दै मल अभाव हुने सम्भावना नरहेको स्पष्ट पार्नु भएको थियो ।

उहाँले काभ्रे जिल्लाले पर्याप्त बजेट पाएन भन्ने टीकाटिप्पणी भइरहे पनि प्रदेश, स्थानीय तह र संघीय सरकारबीचको बजेट वितरण प्रणालीअनुसार जिल्ला पछाडि नपर्ने बताउनु भयो  । सांसद भण्डारीले सशर्त, समपूरक तथा समानीकरण अनुदानमार्फत काभ्रेपलाञ्चोकले आवश्यक बजेट प्राप्त गर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा उहाँले काभ्रेको पाँचखालमा बाँदर फार्म सञ्चालन गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसबाट बाँदर व्यवस्थापनका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनु भएको थियो ।  बाँदर नियन्त्रणको विषय संघीय संसदमा समेत बहसको विषय बनेको उहाँकाे भनाइ थियो।

सांसद भण्डारीले कृषि उत्पादन वृद्धि, किसानको हित संरक्षण तथा स्थानीय विकासका योजनामा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिनु भयो