फागुन २९ शुक्रबार ,२०८२
काभ्रेपलाञ्चोक। धुलिखेलदेखि खावा सडक खण्डमा कालोपत्रे (पिच) गर्ने कार्य सुरु हुने भएपछि केही दिनका लागि उक्त सडक खण्डमा सवारी आवागमन आंशिक रूपमा बन्द हुने भएको छ।
सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, भक्तपुर ले जारी गरेको सार्वजनिक सूचनाअनुसार धुलिखेल–खावा सडक खण्डमा मिति २०८२ मंसिर ७ गतेदेखि मंसिर २० गतेसम्म सडक कालोपत्रे गर्ने काम गरिनेछ।
सूचनाअनुसार उक्त अवधिमा सवारी साधन सञ्चालनमा केही प्रतिबन्ध लगाइएको छ। ठूला चारपाङ्ग्रे सवारीसाधन (बससमेत) साँझ ६:०० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन नहुने जनाइएको छ।
त्यसैगरी टिपर तथा ट्रकहरू (पास लिएका समेत) मंसिर ७ गतेदेखि मंसिर २० गतेसम्म २४ घण्टा नै सञ्चालन गर्न नपाइने जानकारी दिइएको छ। सम्बन्धित निकायले सो अवधिमा सवारी चालक तथा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।


