२६ वर्षपछि कोशीपारीले पायो प्रतिनिधिसभा सदस्य , भूम्लु–चौरीदेउरालीको राजनीतिक इतिहासमा नयाँ मोड

+
-

फागुन २३, शनिबार २०८२
काभ्रेपलान्चोक । काभ्रे जिल्लाको कोशीपारी क्षेत्र अन्तर्गत हालको भूम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिकाले २६ वर्षपछि प्रतिनिधिसभा सदस्यका लागि आफ्नै उम्मेदवार पाएका छन्। यो घटनालाई काभ्रेको राजनीतिक इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

काभ्रेको राजनीतिक इतिहासमा २०४८ सालको निर्वाचनमा कोशीपारीबाट प्रतिनिधित्व गर्ने उम्मेदवार गोविन्दनाथ उप्रेती हुनुहुन्थ्यो। उहाँ नेकपा एमालेबाट उम्मेदवार बन्नु भएको थियो भने नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद खरेलले प्रतिस्पर्धा गर्नु भएको थियो।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि कोशीपारीबाट गोविन्दनाथ उप्रेती र कमानसिंह लामाले उम्मेदवारी पाउनु भयो। उप्रेती नेकपा एमालेबाट र लामा राष्ट्रिय जनमोर्चा पार्टीबाट प्रतिस्पर्धामा उत्रिनु भएको थियो। यस निर्वाचनमा नेपाली कांग्रेसबाट पुनः राजेन्द्रप्रसाद खरेल उम्मेदवार हुनुहुन्थ्यो। खरेलले हालको पाँचखाल नगरपालिका अन्तर्गत खरेलथोकबाट राजनीतिक यात्रा सुरु गर्नु भएको थियो।

यस्तै २०५६ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कोशीपारीबाट टिकट पाउने अवसर गोविन्दनाथ उप्रेतीले पाउनु भयो। उहाँ त्यतिबेला बामदेव समूहले नेकपा एमाले फुटाएर बनाएको मालेबाट उम्मेदवार बन्नु भएको थियो। । पार्टी विभाजनका कारण कमजोर बनेको एमालेलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र खरेल विजयी हुनुभयो। नेकपा एमालेबाट विदुर सापकाेटाले चुनावी मैदानमा उत्रने अबसर पाउनु भएको थियो । उप्रेती २०५२ सालमा बामदेव समूहबाट श्रम, रोजगार तथा यातायात राज्यमन्त्री समेत बन्नु भएको थियो।

पञ्चायतकालमा २०३८ सालमा सुधारिएको पञ्चायतबाट गोविन्दनाथ उप्रेती सांसद बन्नु भएको थियो। उहाँका समकालीन प्रतिस्पर्धी सत्यमान लामा हालको रोशी गाउँपालिकाबाट हुनुहुन्थ्यो। साथै पञ्चायतकालमै स्वतन्त्र चिन्हबाट पदमभक्त खरेल र द्वारिका उप्रेतीले पनि कोशीपारी भेगबाट अवसर पाएका थिए। यद्यपि संसद प्रवेश गर्ने अवसर भने गोविन्दनाथ उप्रेतीलाइ नै मिलेको पुराना राजनीतिक जानकारहरू बताउँछन्।

२०४३ सालको पञ्चायती संसदमा उप्रेती प्रतिस्पर्धी भए पनि शैलेन्द्रप्रसाद उपाध्यायले जित हासिल गर्नु भएको थियो। उपाध्याय तत्कालीन सरकारका परराष्ट्रमन्त्री समेत हुनुहुन्थ्यो। त्यस्तै २०३९ सालमा चौरीदेउराली–माझीफेँदाका हवलसिंह लामालाई राजाले मनोनित गरी प्रतिनिधिसभामा पुर्‍याएका थिए।

हाल २०५६ सालपछिको संसदीय राजनीतिमा २६ वर्षपछि कोशीपारीबाट प्रतिनिधिसभाको सदस्य हुन पाउने नेताहरू भूम्लु गाउँपालिकाबाट बदनकुमार भण्डारी हुनुहुन्छ ।  लामो  समयपछि स्थानीय भूगोलबाट उम्मेदवार पाइनुले कोशीपारी क्षेत्रमा नयाँ राजनीतिक उत्साह र अपेक्षा जगाएको छ।