राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारबीच सहमति

+
-

फागुन १६ शनिबार ,२०८२
काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी र काभ्रे क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार गणेश प्रसाद अधिकारीबीच चुनावी सहमति भएको छ।

सहमति पत्रअनुसार प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बदन कुमार भण्डारीलाई समर्थन गर्ने सहमति गरिएको हो। स्वतन्त्र उम्मेदवार अधिकारीले आफ्नो उम्मेदवारी कायम राख्दै पार्टीका उम्मेदवारलाई सहयोग गर्ने र पार्टीको चुनाव चिह्नमा मतदान गर्न आफ्ना समर्थक तथा मतदातालाई अपिल गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, दुवै पक्षबीच आपसी सम्मान, सहकार्य र समन्वय गर्दै आगामी दिनमा पार्टीका विभिन्न तहमा योग्यता, क्षमता र निष्ठाका आधारमा जिम्मेवारी प्रदान गर्ने समझदारी पनि भएको छ।

सहमति पत्रमा रास्वपाका काभ्रे जिल्ला अध्यक्ष प्रविण कुमार ढकाल तथा स्वतन्त्र उम्मेदवार गणेश प्रसाद अधिकारीले हस्ताक्षर गरेका छन्।