नेकपा क्षेत्र नं. २ का उम्मेदवार हुमागाईको घरदैलो अभियान पनौतीमा सुरु

+
-

काभ्रेपलान्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईले पनौती नगरपालिकामा घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गर्नुभएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तीव्रता दिइएको हो। निर्वाचन परिचालन कमिटी काभ्रे क्षेत्र नं. २ का संयोजक टोक बहादुर वाइबाका अनुसार आज बिहान पनौती नगरपालिका–कुशादेवी बजार क्षेत्रका मतदातासँग भेटघाटपछि उम्मेदवार हुमागाईको टोली वडा नं. १ अन्तर्गत रयाले पर्खालचौर पुगेको छ।

उक्त स्थानमा घरदैलो अभियानसँगै मतदातासँग प्रत्यक्ष संवाद गरी नागरिकका गुनासा र सुझाव सुन्ने तथा त्यसको समाधानका लागि प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रम रहेको छ। आज कुशादेवी, रोशी र कलाँती भूमेडाँडा क्षेत्रका मतदातासँग भेटघाट तथा छलफल कार्यक्रम जारी रहने निर्वाचन परिचालन कमिटीले जनाएको छ।

यसअघि बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिकाको नाला क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट सम्पन्न गरेको टोलीले आजबाट पनौती नगरपालिकामा अभियानलाई निरन्तरता दिएको हो।

अभियानका क्रममा मतदाताहरूले उम्मेदवार हुमागाईलाई भव्य स्वागत गर्दै जनताका असली उम्मेदवार भएको उल्लेख गर्दै उहाँलाई विजयी गराउन मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।