निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन

+
-

माघ१२साेमबार,२०८२
काठमाडौ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला तथा प्रचारप्रसारका गतिविधिमा कडाइका साथ निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आचारसंहिता अनुसार जुलुस तथा आमसभा सभ्य र अनुशासित तरिकाले गर्नुपर्नेछ। कसैको। कसैको घरको आसपासमा गई विरोध प्रदर्शन गर्न नपाइनेछ भने स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ। यस्ता कार्यक्रम सञ्चालन गर्नु अघि कम्तीमा ७२ घण्टा अगावै मिति, समय, मार्ग र स्थानबारे प्रशासन र प्रहरीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

जुलुस वा आमसभामा सहभागीले दलको चुनाव चिन्ह, झण्डा, लोगो अंकित टोपी, टिसर्ट, मास्क, झोला, व्याच वा अन्य पहिरन प्रयोग गर्न नपाउनेछन्। तर उम्मेदवारले ए–फोर साइजको कागजमा आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) वितरण गर्न भने सक्नेछन्।

एकै स्थान वा एउटै मार्गमा एकभन्दा बढी दल वा उम्मेदवारले एकै समयमा कार्यक्रम गर्न नपाउने, निषेधित सामग्री प्रयोग गर्न नपाइने तथा घरधनीको अनुमति बिना निजी वा सार्वजनिक स्थानमा झण्डा, चिन्ह टाँस्न नपाइने व्यवस्था गरिएको छ।

क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था लगायतलाई नगद वा जिन्सी सहयोग, अनुदान, चन्दा वा पुरस्कार दिन तथा दिने घोषणा गर्न पनि निषेध गरिएको छ। प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ भने कात्तिक १ गतेदेखि माघ मसान्तसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सीमित गरिएको छ।

निर्वाचन प्रचारप्रसारमा १८ वर्षमुनिका बालबालिकाको प्रयोग गर्न नपाइने, डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। अनलाइन वेबपेज, टिभी स्क्रोलिङ, सपिङ मल, कल सेन्टर, एटिएम सन्देश, सडक नाटकजस्ता माध्यमबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको छ।

कुनै पनि धर्मको नाममा प्रचार गर्न, साम्प्रदायिक विद्वेष फैलाउने सामग्री प्रयोग गर्न, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको भावना, इज्जत र प्रतिष्ठामा आँच पुग्ने गरी प्रचार गर्न नपाइने स्पष्ट गरिएको छ।

उम्मेदवार तथा उनका परिवारलाई डर, त्रास वा धम्की दिनु कानुन विपरीत हुने उल्लेख गरिएको छ। उक्त व्यवस्था नेपाल राजपत्र भाग ५, संख्या ५०, मिति २०७८ चैत ३ मा प्रकाशित निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ ।

#निर्वाचनआचारसंहिता
#चुनाव२०८२
#स्वच्छनिर्वाचन
#राजनीतिकदल
#उम्मेदवार
#जुलुसनियम
#प्रचारप्रसार
#नेपालराजपत्र