२०८२ पुस ३० बुधबार
काठमाडौं। सहकारी संस्थाको रकम अपचलन तथा हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धकाे मुद्दा फिर्ता हुने भएको छ। महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, रुपन्देही, कास्की लगायतका निकायबाट पेश भएको प्रतिवेदन, टिपणी तथा संलग्न कागजातको अध्ययनपछि मुद्दा फिर्ता गर्नुपर्ने ठहर गरेको हो।
महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गरेको टिपणी र आदेश अनुसार विभिन्न सहकारी संस्थाबाट बचतकर्ताको रकम अपचलन गरिएको विषयमा लामिछानेको संलग्नता रहेको भनी अनुसन्धान अघि बढाइएको थियो। सो क्रममा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग लगाउन मागसहित निवेदन पेश गरिएको उल्लेख छ।
यसै आधारमा गृह मन्त्रालय र सम्बन्धित निकायबाट प्राप्त निर्णय र निर्देशनअनुसार महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिन सहमति प्रदान गरेको हो। अब सम्बन्धित जिल्ला अदालतबाट औपचारिक रूपमा अभियोगपत्र फिर्ता हुने छ।


