विशेष महाधिवेशनमा गगन–विश्वको मुख्य प्रस्ताव

+
-

२०८२ पुस २८ साेमबार
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी रूपान्तरण केन्द्रित संयुक्त प्रस्ताव प्रस्तुत गरेका छन्। पार्टीलाई लोकतान्त्रिक, पारदर्शी र विधिसम्मत ढंगले अघि बढाउने उद्देश्यसहित उनीहरूले संरचनात्मक र नीतिगत सुधारका बहुआयामिक प्रस्ताव अघि सारेका हुन्।

प्रस्तावअनुसार प्रधानमन्त्री दुई पटकभन्दा बढी नबन्ने व्यवस्था गर्नुपर्ने, पार्टीभित्र प्राइमरी निर्वाचन प्रणाली लागू गर्ने, तथा निर्वाचनअघि गठबन्धन नगर्ने नीति अवलम्बन गर्ने उल्लेख छ। समानुपातिक प्रणालीअन्तर्गत एक पटकभन्दा बढी सांसद नबन्ने व्यवस्था, केन्द्रीय समितिमा ४० प्रतिशत ४० बर्ष मुनिका युवाकाे  सहभागिता सुनिश्चित गर्ने प्रस्ताव पनि समेटिएको छ।

त्यस्तै, ‘सिङ्गल रोटेसन रिजर्भ’ प्रणालीको अभ्यास, कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’ लागू गर्ने, दलका सदस्यले दुई वर्षसम्म संवैधानिक नियुक्ति नपाउने व्यवस्था गर्ने विषय पनि प्रस्तावमा उल्लेख छन्।

गैरआवासीय नेपालीलाई नागरिकता तथा मतदान अधिकार सुनिश्चित गर्ने पहल, राजनीतिक नियुक्तिमा ट्र्याक रेकर्ड हेर्ने मात्र गर्ने, आन्तरिक सुशासन आयोग गठन गर्ने तथा बौद्धिक र व्यावसायिक क्षेत्रलाई पार्टी नेतृत्वमा ल्याउने व्यवस्था गर्ने विषयलाई पनि प्रस्तावले प्राथमिकतामा राखेको छ।