प्रगतिवादी तथा प्रथम नेपाली गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको ११९औँ जन्मजयन्ती सम्पन्न

+
-

२०८२पुस२७ आइतबार
भक्तपुर । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको आयोजनामा प्रगतिवादी साथै प्रथम नेपाली गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको ११९औँ जन्मजयन्ती मनाइएको छ।  आज आइतबार   भक्तपुरको सिरुटारस्थित कवि युद्धप्रसाद मिश्र स्मृति भवनको सभाकक्षमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

कार्यक्रममा कवि मिश्रको तस्बिर र सालिकमा माल्यार्पण गरिएको थियो। साथै उहाँद्वारा रचित कविताहरू वाचन गरिनुका साथै उहाँका साहित्यिक तथा राजनीतिक योगदानमाथि विचार–विमर्श गरिएको थियो। यस अवसरमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवम् साहित्यकार नन्दु उप्रेतीबाट प्राप्त सौजन्यस्वरूपका शैक्षिक सामग्रीहरू स्थानीय विद्यालयका बालबालिकालाई वितरण गरिएको थियो।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रा.डा. लेखप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा डा. यादवप्रकाश लामिछाने प्रमुख अतिथि रहनुभएको थियो भने प्रा.डा. जीवेन्द्र देव गिरी र शान्ता मानवी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा कवि मिश्रका कान्छा सुपुत्र महेश्वरप्रकाश मिश्र, साहित्यकार जनार्दन न्यौपाने, पूर्व महासचिव डा. बालचन्द्र मिश्र, शशीजङ्ग थापा, नातिबाबु बुढाथोकी, परिवारका सदस्य अस्मिता मिश्र लगायतको उपस्थिति रहेको थियो।

यसैगरी कार्यक्रममा कृष्णमोहन श्रेष्ठ, उद्धव चौलागाईं, पूर्व कोषाध्यक्ष जयन्ता पोख्रेल, राजाराम राउत, मिसन अधिकारीलगायत साहित्यकारहरू, स्थानीय व्यक्तित्वहरू, सोमलिङ्गेश्वर आधारभूत विद्यालयका शिक्षकवर्ग, विद्यार्थी तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विशेष मन्तव्य व्यक्त गरिनुका साथै डम्बर पहाडी ‘एलाक’, रूपक अलङ्कार, गोपालकुमार मैनाली, अनिल मिश्र, डा. बालचन्द्र मिश्र तथा स्थानीय विद्यालयका छात्रा अस्मिता तामाङ, आकृति तामाङ र प्रमिला तामाङले कवि मिश्रका बालकविता र प्रगतिवादी कविता वाचन गर्नुभएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष डा. फणीन्द्रराज निरौलाबाट स्वागत मन्तव्य, डा. प्रतिभा पुनबाट कार्यक्रम प्रतिवेदन प्रस्तुत, सदस्य ज्ञानु विद्रोहीबाट धन्यवाद ज्ञापन तथा महासचिव हरिप्रसाद सिलवालबाट कार्यक्रम सञ्चालन गरिएको थियो।