पुस २७ आइतबार ,२०८२
काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजा ज्ञानेन्द्र शाहले सत्ता सहजै छोडेर त्याग गरेको बताउनुभएको छ।
आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित काङ्ग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता भण्डारीले काङ्ग्रेसका नेताहरूमा त्यस्तो त्यागको भावना नदेखिएकोप्रति दुःख व्यक्त गर्नुभयो।
उहाँले विगतमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीच गम्भीर विवाद भए पनि अन्त्यमा किसुन जिले सभालाई सम्बोधन गर्दै ‘जय नेपाल, हामी एक छौँ’ भन्ने सन्देश दिएको स्मरण गर्नुभयो। त्यसले पार्टी एकताको बलियो उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ थियो।
कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाको अनुपस्थिति रहेको सन्दर्भ उल्लेख गर्दै नेता भण्डारीले किसुनजीका चेला देउवाले उहाँकै जीवनबाट त्याग र एकताको उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो।
उहाँको भनाइले काङ्ग्रेसभित्र नेतृत्व, त्याग र एकताको विषयमा गम्भीर बहस आवश्यक रहेको संकेत गरेको सहभागीहरूले मनन गरेका छन्


