पुस १३ आइतबार ,२०८२
काभ्रेपलाञ्चोक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बाँनियाले जनमुखी रूपमा काम गर्न सके वर्तमान व्यवस्था नै सुन्दर र दिगो हुने बताएका छन्। जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले स्थानीय तहले नागरिकलाई सेवा दिने, प्रदेशले विकास निर्माणको काम गर्ने र संघीय सरकारले नीति निर्माण गर्ने हो भने गणतन्त्रको रक्षा स्वतः हुने धारणा राखे।
मुख्यमन्त्री बाँनियाले जेनजिका नाममा भएका आन्दोलनका दोषीलाई कारबाही गर्नुपर्ने स्पष्ट पारे। अबका दिनमा सरकार जनमुखी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताउँदै, कृषि क्रान्ति अघि बढाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए। साथै शिक्षामा गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि लगानी गर्ने योजना रहेको उनले बताए।
प्रदेश र स्थानीय तहबीच नियमित छलफल र अन्तरक्रियाबाट कमजोरी पहिचान गर्न सकिने उल्लेख गर्दै उनले स्थानीय तहले छनोट गरेका योजनामा मात्रै प्रदेशले बजेट हाल्ने कार्यविधि बनाइने जानकारी दिए। यसलाई बागमती प्रदेशबाट सुरु गरी ७७ वटै जिल्लामा लागू गर्ने तयारी रहेको उनले बताए।
जिल्लाका योजनाहरु रोशी पुल, महिला हरित गृह निर्माण, सडक, खानेपानी, कृषि र भवन निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने पनि मुख्यमन्त्री बाँनियाले स्पष्ट पारे। बजेट प्रणाली व्यवस्थित बनाउन संवैधानिक व्यवस्था अनुसार अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।


