पुस ६ आइतबार ,२०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक अवस्थाबाट निकास पाउन चुनावको विकल्प नरहेको स्पष्ट पारेका छन्। शुक्रबार चितवनको भरतपुर–चौबीसकोटीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने एकमात्र माध्यम निर्वाचन नै भएको बताए।
लामिछानेले आफू एक चुनाव जित्नका लागि मात्र नभई एक पुस्ताका लागि राजनीति गरिरहेको उल्लेख गर्दै युवापुस्ताको भरोसा र अपेक्षा केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। “यो लडाइँ व्यक्तिगत स्वार्थका लागि होइन, देश र भविष्यका पुस्ताका लागि हो,” उनले भने।
उनले न्याय र सुशासनको विषयमा बोल्दै चितवनले मात्र होइन, सिंगो देशले न्याय पाउने वातावरण बनाउन आवश्यक रहेको धारणा राखे। जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले कुनै पनि दबाब र चुनौतीसँग नझुक्ने बताए।
हालै सहकारीसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका लामिछानेले कानुनी प्रक्रियाप्रति सम्मान रहेको उल्लेख गर्दै राजनीतिक प्रतिशोधका बाबजुद पनि आफू नडगमगाएको स्पष्ट पारे। उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र सामूहिक नेतृत्वलाई प्राथमिकतामा राखिने बताए।
सभामा रास्वपाका कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले सुशासन, जवाफदेहिता र वैकल्पिक राजनीतिको पक्षमा नारा लगाएका थिए।


