२०८२ कार्तिक १६ आइतबार
काभ्रेपलान्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख गोपाल कुमार अधिकारीले जिल्लामा क्रियाशील पत्रकारहरूसँग अन्तरक्रिया तथा भेटघाट गर्नुभएको छ । केही समय अघिमात्र जिप्रका झापाबाट सरुवा भई आउनुभएका अधिकारीले काभ्रेपलाञ्चोक जिल्लाका विद्यमान समस्या र समाधानका उपायबारे पत्रकारहरूसँग जानकारी लिनुभएको हो ।
सिडिओ अधिकारीले प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा कार्यसम्पादन साथै काभ्रेका अन्य प्रशासनिक निकायहरूबाट प्रवाह हुने सेवा, विपद व्यवस्थापन, नागरिक सुरक्षा र आगामी फागुन २१ गते हुने निर्वाचन सुरक्षा विषयमा समेत विमर्श गरिएको हो । सञ्चारकर्मीहरू प्रश्नमा उत्तर दिँदै प्रजिअ अधिकारीले भन्नुभयो, ‘सरकारी कार्यालयहरू बीचमा राम्रो समन्वयको अभाव छ, जसका कारण सूचना प्रबाहमा ढिलाइ र समस्या देखिएका छन् । कार्यालयको काम कारबाहीबारे रिपोर्ट बनाउँनको लागि पनि दक्ष कर्मचारी अभाव भएको बताउनुभयो ।’
सिडिओ अधिकारीले धुलिखेल-सुर्यविनायक सडक विस्तार आयोजना र विपी राजमार्गको विकास निर्माण कार्यमा समस्या आउँदा प्रशासनले सहजिकरण गरिरहेको बताउनुभयो । उहाँले निर्वाध रुपमा दिउँसो गुड्ने टिपरहरूले नक्कली पास बोक्ने गरेको गुनासो आएकोले त्यसमा प्रशासनको तर्फबाट कडा निगरानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासँघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष विनोद कुमार न्यौपानेले गतवर्षका बाढीपहिरो पीडित नागरिकको आवास पुनर्निर्माणको निम्ति उपलब्ध हुने राहत सबै पीडित नागरिकले नपाएको कारणबारे समन्वय गरिदिनुहुन प्रजिअ अधिकारीलाई अनुरोध गर्नुभएको थियो ।


