भुम्लु गाउँपालिकाका अध्यक्षद्वारा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीबारे सार्वजनिक स्पष्टीकरण

+
-

२०८२कार्तिक १३ बुधबार
काभ्रे । भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भूजेलले हालसालै सामाजिक सञ्जालहरूमा आफ्नाे र परिवारकाे तस्बिरहरू प्रयोग गरी बनाइएका फेक आइडीमार्फत गलत र भ्रामक सामग्रीहरू फैलाइएको भन्दै यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छन्।

अध्यक्ष भूजेलका अनुसार केही व्यक्तिहरूले आफ्नो व्यक्तिगत छवि, परिवार, र रिष्टे बासीकै केहि बालबालिकाको तस्बिरहरू दुरुपयोग गरी पालिकाको प्रतिष्ठामाथि नकारात्मक प्रभाव पार्ने उद्देश्यले दुर्नियतपूर्ण सामग्रीहरू प्रकाशित गरेका छन्।

उनले सो घटनाबारे मिति २०८२ साल असोज ९ गते (२०८२/०७/०९) मा साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरिसकेको र आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।

भूजेलले स्पष्ट पारेका छन् कि ती तस्बिरहरूमा देखिएका चाइनिज नागरिक मिस्टर ओदेमो चीनको हाइसाङ कल्चरल मिडिया, संघाइका कर्मचारी हुन्, जो “आई.एस.भी.जी. नेपाल” संस्थासँगको समन्वयमा भुम्लु गाउँपालिका–१, रिष्टे सेतीदेवी माध्यमिक विद्यालयमा स्वयंसेवकका रूपमा चाइनिज भाषा कक्षा सञ्चालन गर्न आएका व्यक्ति हुन्।

उनका अनुसार, “विदेशी पाहुनालाई स्वागत गर्नु हाम्रो नेपाली संस्कार हो। मैले पनि सोही संस्कारअनुसार स्वागत गरेको हुँ।” मिस्टर ओदेमो र उनकी टिमले नेपालमा अनाथ, गरिब र विपन्न बालबालिकाको सहयोगमा काम गर्दै आएको भूजेलले बताएका छन्।

भूजेलले भने, “उनीहरूले पारदर्शी रूपमा काम गर्छन् र चीनस्थित आफ्नो संस्थाको निगरानीमा टिकटक मार्फत लाइभ प्रसारण पनि गर्छन्। तर हाल एआई प्रविधि प्रयोग गरी ती भिडियो र तस्बिरहरू परिमार्जन (एडिट) गरी गलत सन्देश फैलाइएको छ, जुन पूर्ण रूपमा झूटो र निराधार हो।”