कार्तिक १ शनिबार , २०८२
काभ्रेपलान्चोक । प्रेस युनियन काभ्रेको साधारण सभा तथा दशैं, तिहार, छठ र नेपाल संवत–११४६ का अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्नुका साथै प्रेस युनियन काभ्रेको लोगो सार्वजनिक गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रेश यूनियन नेपालका अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारहरूको हक, हित र अधिकारका लागि प्रेस युनियन सधैं अग्रपंक्तिमा उभिँदै आएको इतिहास स्मरण गर्दै आगामी दिनमा पनि संगठन निरन्तर सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले २०७२ सालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता जोगाउनका लागि हालका चुनौतीबारे सचेत गराउँदै सबै पत्रकार संगठनहरूले संयुक्त रूपमा भूमिका निभाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पत्रकारहरूले समाजमा सकारात्मक समाचार प्रबाह गर्दै सोच र सपना बाँड्ने दायित्व निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर वाइबा, रोशी गाउँपालिकाकी उपाध्यक्ष ज्वाला वाइबा, भोजराज तिमल्सिना, भोला थापा र महेश पौडेललगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य नारायण सापकोटाले पेसागत पत्रकारहरूमा अन्याय नहोस भन्ने उद्देश्यले संगठन निरन्तर सचेत रहेको बताउनुभयो। त्यस्तै, केन्द्रीय सदस्य कपिल कोइरालाले श्रमजीवी पत्रकारहरूको हितका लागि युनियनले निरन्तर पहल लिइरहेको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समिति मार्फत सामाजिक सुरक्षा कोषमा पत्रकारहरूलाई जोड्ने काम भइरहेको जानकारी दिनुभयो। प्रेस युनियन बागमती प्रदेश अध्यक्ष युवराज पुरीले संगठनलाई चलायमान राख्ने मुख्य शक्ति जिल्ला संगठनहरू भएको उल्लेख गर्दै काभ्रेको सक्रियता र प्रयासको प्रशंसा गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतीलाल तिमल्सिनाले ‘जेनेजी आन्दोलन’ले आगामी दिनमा पार्ने प्रभावबारे चर्चा गर्दै सञ्चार माध्यमहरू सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभयो। अर्का पुर्व अध्यक्ष बद्रिराज तिमल्सिनाले मिडिया जगतमा पत्रकारहरूको अनुभव, जिम्मेवारी र सक्रियताप्रति खुशी व्यक्त गर्दै महासंघको चुनाव पहिलो पटक सर्वसम्मत बनाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोद कुमार न्यौपानेले लोकतन्त्रमाथि भइरहेका आक्रमणका बीच पेसागत पत्रकारहरूको एकता मजबुत बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपालका अध्यक्ष राम प्रसाद ढकाल, समाजवादी प्रेस संगठन नेपाल काभ्रे अध्यक्ष दिनेश राज खरेल, फोनिज अध्यक्ष इन्द्रबहादुर थापालगायतका वक्ताहरूले प्रेस युनियन काभ्रे शाखाको साधारण सभा तथा शुभकामना आदान–प्रदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।


