शुक्रबार २४ असाेज २०८२
काठमाडौं। वरिष्ठ समालोचक तथा निबन्धकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’को लोकार्पण गरिएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक,समालोचक प्रा.डा.ज्ञानु पाण्डे,वरिष्ठ समालोचक प्रमोद प्रधान ,वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रा.डा.गौतम लगायतले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गर्नु भएको हो ।
गौतमका निबन्ध माथि टिप्पणी गर्दै प्रधानले पाठक र लेखकको सम्बन्धलाई निकट बनाउने प्रयास गरिएकाे प्रष्ट्याउनु भयो । निबन्धहरुमा सम्बोधन शैलीको प्रयोग भएको भन्दै २१ वटा निबन्धहरुमा कवित्व चेत प्रखर बनेर आएको प्रधानकाे दावी छ।
अर्की समीक्षक प्रा.डा.पाण्डेले समवेत धेरै थरी रंगको विचारको एकिकृत आवाज भएको बताउनु भयो । उहाँका अनुसार – ‘मान्छे धेरै पत्र बाँचेको प्राणी हो भन्ने कुरालाई निबन्धहरुले बताएको छ।‘मान्छेलाई इमान्दार बन्न सुझाएका गौतमका निबन्धहरु विषयगत विविधतामा आएका छन् ।
समवेतका स्रष्टा प्रा.डा.गौतमले आफू समालोचक बढि र निबन्धकारकम भएकोले निबन्ध सृजना गर्न गाह्रो हुने स्विकार गर्नु भयो । उहाँले निबन्धमा आफुलाई प्रस्तुत गरेको बताउनुभयो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले निबन्धकार हुनु गाह्रो कार्य भएको बताउँदै आत्मपरक निबन्धमा गौतमको गौरव गर्न लायक कृति आएको धारणा राख्नु भयो ।
नेपाल स्रष्टा समाज,केन्द्रीय समितिको आयोजनामा भएको उक्त लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार एवं समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तब्य राख्नु भएको थियो ।कार्यक्रमको सञ्चालन सदस्य मधु पाठकले गर्नुका साथै सचिव प्रकाश घायलले स्वागत मन्तब्य राख्नु भएको थियो ।


