असाेज ६, साेमबार
काठमाडाैं । लाेमस वाङ्मय प्रतिष्ठानले आफ्नो वार्षिक उत्सव, स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको लेखनाथ कक्षमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपकुलपति राईले “नेता भ्रष्ट भएको कारण जेन जि आन्दोलनले अपेक्षित रूप लिएको” धारणा व्यक्त गर्नुभयो । उहाँले यो अवस्थाको जिम्मा विद्वानहरूसमेतले लिनुपर्ने बताउँदै, “जेन जि पुस्ताले के पढ्छ, के लेख्छ, परिवार र समाजप्रति कस्तो सोच राख्छ भन्ने विषयमा गहिरो अध्ययन नगर्नु कमजोरी हो,” भन्नुभयो । साथै उहाँले गणतन्त्रले भ्रष्टाचार संस्कृति त विकास गरेको तर संस्कृति, परम्परा र भाषा जस्ता मूल्यहरूको क्षय भएकोमा दुःख प्रकट गर्नुभयो ।
कार्यक्रममा सम्मानित स्रष्टा डा. नवीन बन्धु पहाडीले “लाेमसले यस्ता कार्यक्रम सदियौँसम्म निरन्तर गर्न सकोस्” भन्दै शुभकामना दिनुभयो । अन्य वक्ताहरू—डा. आस बहादुर तामाङ, सभाध्यक्ष माधव घिमिरे ‘अटल’ र लोकगायक राजु परियारले संस्थाले गर्दै आएको सकारात्मक गतिविधिको प्रशंसा गर्नुभयो ।
तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले साहित्य सिर्जनालाई अद्भुत कला भन्दै समाजलाई सचेत गराउने स्रष्टाहरू महान भएको धारणा राख्नुभयो । त्यस्तै, अपूर्वा का लेखिका रुबि सत्यालले जापान बसाइका अनुभवलाई उपन्यासमा उतार्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।
लेखकद्वयका रुबि सत्याल र जयराम विडारीकाे कृति अपूर्वा र जीवन्त विम्व माथि प्रा. डा. ऋषि राज शर्मा र रामकाजी कोईले परिचर्चा गर्नुभएको थियो । कार्यक्रममा रेडियो नेपालका निर्देशक अमर ध्वज लामा, बागमती टेलिभिजनका मनोज न्यौपाने, पर्यटन व्यवसायी बोधराज भण्डारी लगायतले संस्थाको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
वार्षिकोत्सव समारोहमा संस्थाका आजीवन सदस्यलाई सम्मान गर्ने कार्यसमेत भएको थियो । उपस्थित अतिथि, विशिष्ट अतिथि र स्रष्टाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव नवीन पल्लवले गर्नुभएको थियो ।


