भाद्र २ साेमबार ,२०८२
काभ्रे । पाँचखाल नगरपालिका वडा नं. ८ मा बन्धन भगवती निर्माण सेवा प्रालिले स्थापना गर्न लागेको आसफाल्ट प्लान्टसम्बन्धी आज गरिएको सार्वजनिक सुनुवाइ स्थानीय जनसमुदायको तीव्र विरोधका कारण स्थगित गरिएको छ।
नेकपा एकीकृत समाजवादीका युवा नेता शिवराम दाहालले यस परियोजनाको प्रारम्भिक पर्यावरणीय मूल्यांकन (IEE) प्रक्रियामा सार्वजनिक सुनुवाइ अनिवार्य हुँदाहुँदै त्यसलाई बेवास्ता गर्दै अगाडि बढ्ने प्रवृत्तिप्रति आपत्ति जनाएका थिए। उनले यस्तो शैलीलाई ‘हिटलर शैली’ भन्दै आलोचना गरे।
सुनुवाइ कार्यक्रममा स्थानीयहरूले पाँचखाल नगरप्रमुख महेश खरेलसँग पनि प्रश्न गरेका थिए— “सार्वजनिक सुनुवाइजस्तो अनिवार्य प्रक्रिया बिना योजना अघि बढाउन पाइन्छ र?”
सोही विरोधपछि सार्वजनिक सुनुवाइ स्थगित भएको हो। मेयर खरेल अहिले आफ्नो कार्यालयमा गएर यस विषयमा प्रष्टिकरण दिइरहनुभएको जनाइएको छ।


