भाद्र २ साेमबार,२०८२
काभ्रेपलाञ्चोक । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता जनाउनुभएको छ।
जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा सोमबार बोल्दै मन्त्री बादेले आफू स्थानीय तहदेखि प्रतिनिधिसभा सदस्यसम्मको अनुभव बोकेको व्यक्तित्व भएकाले जिम्मेवारीका हरेक तहमा इमानदारीपूर्वक काम गर्दै आएको स्मरण गर्नुभयो। उहाँले बागमती प्रदेशमा मन्त्री रहँदासम्म काभ्रेको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा योगदान पुर्याएको बताउँदै आगामी दिनमा पनि जिल्लाको विकासका लागि सक्रिय रहने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले मन्त्री बादेसँगको निकटताको कारण आफूलाई समेत मन्त्री भएको अनुभूति भएको टिप्पणी गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, यातायात तथा सामाजिक संरचनाका क्षेत्रमा प्रभावकारी काम हुने अपेक्षा व्यक्त गर्दै बजेट बनिसकेको अवस्थामा मन्त्री बादेको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, उपप्रमुख रिम बहादुर लामाले काभ्रेलाई सुशासनका सूचकमा अगाडि बढाउन मन्त्री बादे सक्रिय भएर लाग्नुपर्ने सुझाव दिनुभयो। प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जिल्लाको विकास निर्माण, विपद् व्यवस्थापन र सामाजिक–आर्थिक क्षेत्रमा मन्त्रालयको पहलबाट सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।


