साउन ३०, शुक्रबार, २०८२
काभ्रेपलाञ्चोक। प्रगतिशील लेखक संघ काभ्रेको नियमित ११औं काव्य गोष्ठी तथा सम्मान कार्यक्रम शुक्रबार बनेपामा सम्पन्न भएको छ। संघले आयोजना गरेको कार्यक्रममा काव्य वाचनसँगै प्रमुख अतिथि, अतिथि, कृति लेखक तथा स्रष्टाहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक संघका केन्द्रीय पूर्वअध्यक्ष डा. मधुसुदन गिरीले प्रगतिशील लेखनबारे गहिरो चिन्तन गर्ने समय आएको बताएका थिए। उनले अबको लेखन फेरि एकपटक शासकवर्गको विरोधमा उन्मुख भई श्रमिक तथा मजदुर वर्गको पक्षमा साहित्यिक योगदान दिनुपर्ने आवश्यकता औंल्याए।
प्रगतिशील लेखक संघ काभ्रेका अध्यक्ष कान्छामान लामा ‘रक्तिम’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा काभ्रे इञ्चार्ज गोविन्द अर्यालसहितका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो। ‘स्रष्टा विशेष’अन्तर्गत यसपटक कवि शुभद्रा अधिकारीको रचना वाचन गरिएको थियो।
संघले यसै महिनादेखि सम्मान पत्र र प्रशंसा पत्र प्रदान गर्ने कार्य थालनी गरेको छ। अध्यक्ष लामाका अनुसार यसलाई आगामी कार्यक्रमहरूमा पनि निरन्तरता दिइनेछ। सम्मान पत्र प्राप्त गर्नेमा प्रमुख अतिथि डा. गिरी, कवि तथा लेखक भवानी पाण्डे, कवि रक्तिम लामा, स्रष्टा यदुनाथ देउपुरे र कवि शुभद्रा अधिकारी रहेका छन्।
यसपटक ‘स्रष्टा विशेष’मा कवि अधिकारीले पाँचवटा रचना वाचन गरेकी थिइन्। कार्यक्रममा कविहरू नवराज उत्साही, मुरहरी रायमाझी, श्रीकृष्ण पाण्डे, पूर्णबहादुर श्रेष्ठ ‘हृदयाङ्कृत’, शुसिला विष्ट, संजय सोति, रामेश्वर आचार्य, बलराम विष्ट, शारदा नेपाल, साधुराम थपलिया, भवानी पाण्डे, केदारनाथ तिमल्सिना, रक्तिम लामा, दिनेश खरेललगायतले रचना वाचन गरेका थिए।


