जेष्ठ ८ बुधबार,२०८२
काठमाडौं । श्रमिकका विभिन्न समस्याहरूको समाधानको माग राख्दै एकीकृत ट्रेड यूनियन महासंघको नेतृत्वमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई आज ज्ञापनपत्र बुझाइएको छ।
नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले संयुक्त रूपमा मन्त्री भण्डारीसँग सिंहदरबारस्थित कार्यकक्षमा भेट गरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारी कर्मचारी बाहेक अन्य श्रमिकहरूको पनि न्यूनतम पारिश्रमिक वृद्धि समावेश गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।
कार्यक्रममा एकीकृत ट्रेड यूनियन महासंघका राष्ट्रिय अध्यक्ष विष्णुप्रसाद लम्सालको उपस्थितिमा नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेमबहादुर कार्कीले मन्त्रीसमक्ष ज्ञापनपत्र वाचन गरी श्रमिकहरूका समस्या र सुझावहरू प्रस्तुत गर्नुभएको थियो।
ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री शरद सिंह भण्डारीले श्रमिकहरूको मागप्रति सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी विभिन्न ट्रेड यूनियनसँग सम्पर्कमा छौं, तर आजसम्म यस्ता मागहरू औपचारिक रूपमा आएका थिएनन्। तपाईंहरूले उठाउनुभएको माग न्यायसंगत छन्, आगामी बजेटमा सकेसम्म सम्बोधन गर्ने प्रयास गरिनेछ।”
मन्त्री भण्डारीले श्रमिकहरू रोजगारदाताबाट शोषित भइरहे पनि मन्त्रालयसम्म उजुरी नपुगेकाले कारबाहीमा कठिनाइ आएको स्वीकार गर्नुभयो। उहाँले ट्रेड यूनियनहरूलाई श्रमिकका आवाज निरन्तर सरकारसम्म पुर्याउन आग्रह गर्नुभयो।
ज्ञापनपत्र बुझाएपछि महासंघका अध्यक्ष लम्सालले यसै आर्थिक वर्षमा श्रमिकको तलब वृद्धि हुने आशा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका उपाध्यक्ष उद्धवप्रसाद दाहाल, महासचिव वेदप्रसाद हुमागाईं र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनका महासचिव पूर्ण थापाको पनि उपस्थिति रहेको थियो।


