बैशाख १७,बुधबार ,२०८१
दिनेशराज खरेल
मकवानपुर । अहिले मकवानपुर मनहरी गाँउपालिकाकाे चिया चाेकमा एउटा भर्भराँउदाे युवाकाे चर्चा चल्ने गरेकाे छ। बजारकाे चिया चौतारीमा केही मान्छे जम्मा हुने बित्तिकै गफिन थाल्छन्, र भन्छन् – `यत्तिको केटाले गर्छ !´
मनहरी बजारमा देखिने झिल्के युवा कुनै शहरिया हाेला भन्ने लागेकाे थियो- याे पंतिकारलाई । साेही चिया पसलमा एक कप कालाे चिया मगाएर गफ सुन्ने मन भयाे- मलाई ।
चियाकाे चुस्की लिँदै मान्छेहरु भन्दै थिए,` केटाे आँटिलाे छ। विदेश बसेर त्यहाँकाे विकास र सिस्टम बुझेर आएको हो । पैसा नै कमाउने र व्यापारमा लाग्ने भए विदेश ठिकै थियो । किन नेपाल फर्केर आँउथ्थाे र? यस्तै युवाकाे भिजनले देश चलाउने हो,भने देश बन्न समय लाग्दैन । पालिकामा त सजिलै आमूल परिवर्तन ल्याउन सक्छन् यतिका मान्छेले । फेरि पढेलेखेकाे छ। क्यानडाकाे पिआर थियो रे,त्यस्ताे देश छाेडेर आएको भन्छन् !´
केही युवा,केही महिला र केही पाका उमेरका समुहले यस्तो भनेकाे सुनेपछि पंक्तिकारलाई उनको विषयमा जान्ने मन भयो र माेबाइल नम्बर लिएर भेट गरें ।
मनहरी गाँउपालिका बजार क्षेत्रदेखि ग्रामिणसम्मका भूगोल छन् । जता गएपनि नागरिकले सम्झने नाम हो प्रकाश बर्ताौला । युवा समाजसेवी उहाँ मनहरी गाँउपालिका नेपाली काङ्ग्रेसका सभापति हुनुहुन्छ । विगत १० बर्ष पहिले उच्च शिक्षाकाे लागि क्यानडा पुग्नु भएका बर्तौला विदेशकाे सुख,सयल र पैसाकाे माेह त्यागेर जन्म भूमि फर्कनु भयो । नेपाल फर्केका अधिकांश युवा राजधानी वा शहर केन्द्रीत हुन्छन् । शहरमा बसेर विदेशमा कमाएको जस्तै कमाउने सपना देख्छन् । उनिहरु आफ्नो छाेरा- छाेरी, परिवार , सम्पत्ति ,आफन्त भन्दा टाढा भएका हुदैनन् ।तर लामाे समय क्यानडा बसेर नेपाल फर्कनु भएका बर्तौला काठमाडौकाे सुविधा ,व्यापार र व्यक्तिगत लाभ आदि सबै त्यागेर गाउँमा सेवा गर्न पुग्नु भएको छ।
समाजसेवा गर्ने आधारहरु धेरै छन् । तर राजनीतिक सुधार अपरिहार्य रहेको उहाँको ठम्याइ छ। राज्यको मुल निति राजनीति नसुधि्रएको खण्डमा कसैले पनि केही गर्ने सक्दैन- उहाँ भन्नू हुन्छ। त्यसैले बर्तौलाले राजनीति राेज्नु भयो । त्यो पनि नेपाली काङ्ग्रेसबाट । मनहरी गाँउपालिकामा काङ्ग्रेसबाट राजनीति गर्नु पहाडमा कुइनाे ठाेकाउनु बराबर हो । बाम- विचारले जराे गाडेकाे नेकपा एमालेकाे गढ क्षेत्र थियो । तर अहिले मनहरी नेपाली काङ्ग्रेसमय भएको छ।“ एक रुख चार तारा, मनहरीका जनता काङ्ग्रेस सारा ´´ भन्ने नारा चरितार्थ भएको छ।
कुनै बेला बर्तौलाले मनहरीमा एमाले पत्तासाप बनाउने घाेषणा गर्नु भएको थियो । उहाँको भनाइलाई साथिहरुले असम्भब कुरा बाेलेकाे भनेर आलोचना गरे । २०७४ काे निर्वाचनमा ९ वटा वडा मध्य नेपाली काङ्ग्रेसले २ वडा मात्रै जितेको थियो । हाल २०७९ काे निर्वाचनसम्म आइपुग्दा नेकपा एमाले मनहरीमा शुन्यकाे स्थितिमा पुग्याे ।यो आश्चर्यजनक घटना हो,भन्नेहरुकाे कमि छैन । गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष र ९ वटा वडामा एमालेकाे उपस्थित छैन ।
गठबन्धनको कारण निर्वाचन जितेकाे हो कि ? भन्ने पंक्तिकारकाे प्रश्नमा,उहाँ भन्नू हुन्छ-` निर्वाचनमा एमाले भन्दा हामी ४५ सय मतले माथि थियौं । नेकपा माओवादीकाे वास्तविक मत १५ देखि १८ सय हो । माओवादीकाे मत र सहयोगलाई मुल्यांकन गरेका छौ । त्यो सहयोगले थप बल पुगेकाे हो । हामीले माओवादीलाई उपाध्यक्ष जितायौं। वडाहरुमा मित्रवत प्रतिष्पर्धा गरेका थियौँ । ६ वटामा नेपाली काङ्ग्रेस र ३ वटामा माओवादीले जीत हाँसिल गरेको थियो । मनहरी गाँउपालिकामा एमालेले कुनै स्थानमा पनि जित्न नसक्नु भनेको जनताले काङ्ग्रेसलाई विश्वास गरेकाे मान्न सकिन्छ ।
२०३९ सालमा मकवानपुरकाे मनहरीमा जन्मनु भएका उहाँले नेपाली काङ्ग्रेसबाट राजनीतिमा सक्रिय राजनीति गर्नु चुनौतीपूर्ण थियो । दलहरू प्रती नागरिकको वितृष्णा जागेकाे बेला एउटा युवा मनहरीका जनताकाे मन- मनमा बस्न सफल हुनु ले उहाँको राजनीति भविष्य सफल छ भन्ने आधार धेरै छ। किनभने, वडा ,पालिका, जिल्ला र प्रदेशसम्म पनि जनताकाे मुद्दामा बर्तौला दिलाेज्यान दिएर लागिरहनु हुन्छ। उहाँले वडादेखि केन्द्रसम्म व्यक्तिगत र संस्थागत सम्बन्ध विस्तार गर्नु भएको छ।
उच्च शारीरिक कदका उहाँलाई फ्रेन्चकट दारीमा जस्तोसुकै पहिरन पनि चिटिक्क सुहाउँदो देखिन्छ । बर्तौलाकाे व्यक्तित्व र प्रतिभाकाे प्रभावले गाँउका स्थानीय चेपाङ समुदायदेखि मकवानपुरका उद्योगहरुसँग छिटो घुलमिल गर्न सक्ने क्षमता राख्नु हुन्छ। उहाँको पहलमा चेपाङ बस्तीमा थुप्रै विकासका काम भइरहेका छन् । कृषि ,स्वास्थ ,शिक्षामा पनि उहाँले धेरै ठुला परियाेजनाहरु संचालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ। विशेषत: मनहरी कृषिको निम्ति उर्वर भूमि हो । कृषि कर्मले मात्रै नागरिकको जीवन माथि उठाउन सकिने धारणा उहाँको छ। त्यसैले कृषककाे उत्पादनलाई उचित मूल्य र बजार व्यवस्थापन गर्न नसक्नु मुख्य समस्या थियो । त्यही समस्यालाई मध्य नजर गर्दै पालिकामा काेल्ड स्टाेर र पालिकाकाे भवन निर्माण अन्तिम चरणमा छ।
उहाँका अनुसार नेपाली काङ्ग्रेसका बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँकाे विशेष सकृयतामा विकासका याेजनाहरुले तिव्रता पाएका छन् । मनहरीमा नेपालकै अग्लाे गुम्बा बन्दै गरेकाे छ भने यसले यो क्षेत्र बौद्ध धर्मालम्वीहरुकाे गन्तव्य बन्ने विश्वास रहेको छ। साथै पीस पार्क पनि बनिरहेको छ। यसकारण पर्यटन प्रबर्दन र व्यापारका कारण आर्थिक उपार्जनमा थप मद्दत पुग्ने छ। तरकारीको पकेट एरिया रहेको मनहरीमा धेरै सम्भावना र उपलब्धि हाँसिल गर्न सकिने आधारहरु तय भएको युवाहरुले विश्लेषण गर्न थालेकाे पाइन्छ ।
विविध जात जाती,धर्म समुदायका मानिसकाे बसाेबास रहेकाे मनहरी भिमान गाउँ द्वन्द्वकालकाे चर्चित स्थान हो । रुपाचुलि ,ह्याङ्ला, र चेपाङ बस्ती जस्तो दुर्गम ठाँउहरु पनि छन् । बजार क्षेत्रमा बर्ताौला जस्तो सक्रिय युवालाई मन नपराउने कमै छन् । अहिले उहाँको क्रेज कुनै यो वा त्यो दल र विचारका जनता नभई समग्र मनहरीका जनताले अपनत्व ग्रहण गरिसकेको अबस्था हो भन्न यो पंक्तिकारलाई गाराे छैन ।
मनहरी बजारमा भेटिनु भएका बर्तौलासंग पंक्तिकार गाउँ गाँउमा घुम्ने अबसर पाएकाे थियो । त्यहाँ उहाँलाई नागरिकहरुले गरेकाे प्रेम र प्रशंसाले ८४ काे स्थानीय तह निर्वाचनमा बर्तौला पालिका अध्यक्ष हुने निश्चित देखियाे ।बर्तौला विनाकाे मनहरी, `मन र हरी´ छुट्टिदा खल्लो भएजस्तो खल्लो हुने नागरिकको निस्कर्ष छ। गाँउमा अन्य दलका नेताहरूकाे उपस्थिति चुनावमा मात्रै हुने गरेकाे स्थानीयकाे गुनासाे छ। काङ्ग्रेस सभापति बर्तौला नागरिकको हरेक सुख,दुखमा सहभागी हुने गर्नु भएको छ। कहिले त चेपाङ बस्तिमा बास बस्ने , कहिले तामाङ दाजु भाइसँग डम्फुकाे तालमा नाच्ने, विरामी-असाहय, एकल- बालबालिकाकाे सहयोगी पनि उहाँ नै हुनुहुन्छ ।
नागरिककाे हरेक दुख आफ्नो लाग्न थालेकाे, उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ,` म काठमाडौ गए भने २ दिन भन्दा बढि बस्दिन किनभने मलाई शहर भन्दा गाउँ प्याराे लाग्न थालिसकेकाे छ। भुइमान्छेसँग रमाउने बानि परिसकेकाे छ। एक हप्ता गाउँमा नदेख्दा फाेन गरेर हाल खबर साेध्ने धेरै हुनुहुन्छ ,त्यसैले मलाई राजनीतिमा अझै लाग्न प्रेरणा मिलेकाे छ। वडा ,पालिकामा सिफारिस देखि विकासका याेजना सम्मका काम मैले सहजिकरण गरेकाे छु । ´ उहाँ भन्नू हुन्छ।


