दशैंको साँस्कृतिक पक्ष

+
-

            दशै आम नेपालीहरूको सांस्कृतिक पर्व हो । यो चाडलाई आ-आफ्नो मूल्यमान्यता र परम्परानुसार मान्ने गरिन्छ। जस्तो बाहुन-क्षेत्रीहरूले देवीको पूजा आराधना गरी चण्डी र दुर्गा सप्तशतीका संस्कृत मन्त्रहरु उच्चारण गरी पाठ गर्दछन् । र, देवी वा कालीलाई कुभिन्डो , घिरौंला, नरिवल लगायत शक्तिपीठहरुमा पशुवली दिने चलन पनि रहिआएको छ।

         दसैंलाई चैते दसैं भने र चैत्र महिनामा पनि मनाउने गरिन्छ। नेवार समुदायले दिसि पूजा भनेर जेठ महिनामा दुर्गाको आराधना गरी मनाउने गर्दछन्। पूर्वतिर चण्डी नाच नाच्ने चलन छ । चण्डी पाठ र चण्डिनाच लाई सांस्कृतिक पक्षसँग जोडेर हेर्न मिल्ने तथ्यहरु रहेको विद्वान्हरूले बताउने गरेका छन्।

       आदिवासी जनजातिहरुले ठाउँहरू फरकफरक ढाँचामा दशै मान्ने चलन रहिआएको पाइन्छ। कतिपय शक्तिपीठहरूमा आदिवासी जनजाति पुजारी रहेका छन् । यसले धार्मिक सहिषुणता र संस्कृतिक मेलमिलापलाई सहयोग गरेको छ।

        नवरात्रमा काली स्थापना गरेको ठाउँमा कालरात्रिको मध्यरातमा मगर पुजारीले केराको पातमा भातको जाड चढाउने सांस्कृतिक चलन छ। यही जाँचलाई ब्राह्मणले “हरि अोम तत्सत्” भनेर सङ्कल्प गर्छन्। यसमा कहिँ कतै विभेद र असमानतालाई देखिदैन, बरु यस्तो प्रथाले हाम्रो धार्मिक र सांस्कृतिक पक्षलाई मजबुत बनाएको बुझ्न जरुरी भएको संस्कृतिविद्हरु बताउँछन्।
विशेषगरी मन्दिर वा शक्तिपीठहरूमा पशु बलि दिने गरिन्छ। पशुअधिकार र मानवीयताको हिसाबले बलिप्रथा नराम्रो हो । तर ,यो एउटा सामाजिक संस्कार र मान्यता रहिआएको छ । नवरात्रमा देवीलाई प्रशन्न बनाउनका निमित्त रातो अक्षता र फूलले पूजा गरिन्छ, विभिन्न थरीका फलफूल, पकवान भोग लगाइन्छ भने बलि पनि दिने चलन छ।

        संस्कृति महत्वको रुपमा पिङलाई बढी मान्यता दिइन्छ। दशैंमा पिङको विशेष महत्व रहेको छ ।पूर्वीय संस्कृतिमा मानिसले एकपटक भएपनि धर्तीको बोझ कम गर्न रुख वा लिङ्गोमा हालिएको पिङ चढनु पर्छ भन्ने कथन रहिआएको छ। त्यसैले बच्चादेखि बूढा सम्मका मानिसहरु दशैंमा एकपटक भएपनि पिङ खेल्ने गर्दछन् । पिङ थाप्ने र खेल्ने संस्कृति आजको होइन, साथै अन्य समयमा पिङको कुनै अर्थ पनि रहँदैन।

      जमारा स्वास्थ्यको दृष्टिकोणले अति उत्तम मानिन्छ ।यसको रस खानाले सुगर प्रेसर क्यान्सर लगायतका रोगहरुको निराकरण हुने वैज्ञानिक कारणहरु रहेका छन् आजभोलि बजारमा जमारा बिक्रीवितरण हुने गरेको देख्न सकिन्छ भने स्वस्थ रहन पनि मानिसले जमराको रस सेवन गर्ने गर्दछन्। श्रद्धा र भक्तिपूर्वक ९ दिनसम्म उपासना गरी तयार गरिएको शान्तिको प्रतिक हरियो पहेलो जमारा लगाउनुको सांस्कृतिक पक्ष झनै फरक रहेको छ।

          जमरा लगाउँदा त फाइदाजनक हुन्छ भने यसबाट बन्ने रसले स्वास्थ्यमा विशेष लाभ प्रदान गर्ने कुरालाई डाक्टरहरुले पनि नकार्न सकिंदैन । विशेषगरी घटस्थापनादेखि पुर्णिमासम्म मनाइने दसैंलाई नेपालीहरुले फरक फरक जात ,धर्म, सम्प्रदाय अनुसार सस्कृति, मूल्य , मान्यता अनुरुप मनाउने गर्दछन् तसर्थ यो एउटा संस्कृति चाड पनि हो भन्ने आधार र प्रमाण भेट्न सकिन्छ।