प्यारा देशवासीहरु ,
बडादशैंको यस बिहानीमा स्वदेश वा विदेशमा रहे वसेका सम्पूर्ण नेपाली को सुख , समृद्धि को निम्ति शुभ कामना व्यक्त गर्न पाउदा हामीलाई खुशी लागेको छ।
गत सालको घटनाक्रमबाट देशमा के कस्तो परिस्थितिको सिर्जना भयो ,त्यो सबै देशवासीहरुलाई स्पष्ट भएकै कुरा हो।एकातिर हाम्रो समाजले देशको राजनैतिक परिपाटीमा केही सुधार चाहेको देखियो भने अर्को तिर यस स्थितिबाट फाईदा उठाउन खोज्ने केही तत्वले प्रजातन्त्रको नाममा गैर जिम्मेवार कार्य गर्ने, असहिष्णुता को भावना फैलाउने र सामाजिक मर्यादाको उल्लङ्घन गर्ने कुचेष्टा समेत गरे। परिणामत :देशमा चालु विकासका अनेक योजनाहरु बीचैमा अलमलिएको जस्तो समेत देखा परेका छन। त्यस माथि यस वर्ष भुकम्प तथा बाढी पहिरोको मारबाट सर्वसाधारण जनताले कति दुख कस्ट भोग्नु पर्यो त्यो पनि हामिले देख्यौ। भुकम्प पीडितहरुका लागि अधिराज्यका सबै क्षेत्रका नेपालीहरुले सक्दो मद्दत पुर्याउन उत्साहपूर्वक अघि सरेको र क्षतिग्रस्त इलाकामा पञ्चहरुले सक्रिय भई जनतामा सेवा पुर्याउन सकेको देख्न पाउँदा हामीलाई खुशी लागेको छ । देशमा कतै केही परेका बखत यसरि नै सहयोग गर्नुहुने सबैलाई हामी धन्यवाद दिन चाहन्छौं।
देश बाहिर अन्तर्राष्ट्रिय रंगमञ्चमा एकातिर र आर्थिक परिस्थिति जटिल हुँदै गएको देखिन्छ भने अर्कोतिर केही राष्ट्रहरूको होडबाजीको परिणामस्वरूप कम विकसित साना राष्ट्रहरूका लागि अबस्था झन अफ्ठ्यारो हुँदै गइरहेको छ। यही घटनाक्रम चलिरहेमा अनिवार्य संघर्ष तर्फ हामीहरु सबै बाध्यताबस धकेलिने छौ। यस्तो परिस्थितिमा देशलाई सकेसम्म संलग्न हुन नदीई जनताका आवश्यकता पुर्ति गर्दै जाने र विकास योजनाहरुलाई अगाडि बढाउँदै लैजाने उद्देश्य लिई नेपाललाई शान्ति क्षेत्र बनाउने हामीले आकांक्षा राखी राखेका छौं ।नेपालको यस प्रस्तावलाई समय सार्थक बनाउन देश बाहिर भन्दा पनि देश भित्रको स्थिति स्थिर हुन आवश्यक छ।
यसैसन्दर्भमा अब हामी देशवासीले चाहेको सुधारसहितको संविधानलाई प्रकाशमा ल्याउन कार्यरत भएका छौं। नेपाली समाजमा परम्परादेखि रहीआएको सेवा आदर्श मानवतावादी मूल्य र भविष्यप्रतिको आस्था जस्ता दैवीय प्रवृत्तिहरूको सामु जनजीवनलाई खल्बल्याउने आसुरि प्रवृत्तिका प्रयासहरु कदापि टिक्न सक्ने छैनन्। साथै देशप्रेमी नेपाली सबै आ-आफ्नो स्थानमा चनाखो रही देशकालागि कर्तव्यपालन गर्न चुक्ने छैनन् भन्ने हाम्रो विश्वास छ।
श्री दुर्गे भवानी ले हाम्रो रक्षा गरुन!
जय नेपाल!


