अ+
अ
अ-
लेखनाथ पौड्याल
हट्यो सारा हिलो मैला ,हट्यो पानीको वर्षा ।
भवानिको भयो पूजा चल्यो आनन्दको वर्षा।।
जता जाउँ उतै भन्छन् ,दशैं आयो दशैं आयो।
यही आनन्द चर्चाले सबै सङ्कष्ट बिर्सायो ।।
ठूला साना सबैलाई दशै अत्यन्त राम्रो छ।
चलेका चाड ज्यादा यही उत्कृष्ट हाम्रो छ।।
गरी दुर्गा अर्चना भारी , प्रसाद प्रेमले धारी।
ठूला साना सबै रैती,बने सानन्द शृङ्गारी ।।
सबै राम्रा सबै ठाँटी, सबै नाना तमासामा।
सबैका माथमा जौका पहेँला आँकुरा लामा ।।
सबै अत्यन्त आनन्दी सबै छन पीङमा दङग।
सबैको देखिने आयो उज्यालो चेहरा रङ्ग।।
विजेता आर्यको यो हो पुरानो कीर्तिको स्तम्भ। खडा राखिदिए दुर्गे! जगन्मता पछिसम्म।।
कवि शिरोमणिको रचनावलि बाट


